इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुर सुन्तला खेती र कृषि पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ । सुन्तला बिक्रीबाट मात्रै यहाँ वार्षिक तीन करोडदेखि चार करोड रुपैयाँसम्म आम्दानी हुन थालेको छ भने बगान अवलोकन र बोटबाटै सुन्तला टिपेर खान आउने पर्यटकको संख्या पनि बढ्दै गएको छ ।
पूर्वीनाका काँकरभिट्टाबाट करिब ३० किलोमिटर उत्तरमा रहेको सलकपुरको करिब ९० हेक्टर क्षेत्रमा व्यावसायिक रूपमा सुन्तला खेती हुँदै आएको छ । यतिबेला बगानमा लटरम्म फलेका सुन्तला पाकेर पहेँलपुर बनेका छन् । यही दृश्य र ताजा सुन्तलाको स्वाद लिन आन्तरिक तथा भारतीय पर्यटक सलकपुर पुग्ने गरेका छन् ।
वडाध्यक्ष सत्यम राईका अनुसार सलकपुरमा दैनिक करिब एक सय पर्यटक आउने गरेका छन् । वडा कार्यालयको अनुमानअनुसार यहाँ वार्षिक औसत ४५० देखि ६०० मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको छ । मौसम अनुकूल हुँदा र रोगकिराको प्रकोप कम भएका वर्ष उत्पादन अझ बढ्ने गरेको छ ।
सुन्तला खेतीबाट हुने आम्दानीले स्थानीयको आर्थिक अवस्था सुधार्नसमेत सहयोग पुर्याएको छ । गाउँका एक सयभन्दा बढी घरपरिवार यस खेतीमा संलग्न छन् । रोगका कारण पुराना बोट मरेपछि नयाँ बगान विस्तार गर्ने क्रम पनि बढिरहेको छ ।
सलकपुरमा उत्पादित सुन्तला स्वादिलो र रसिलो हुने भएकाले बोटबाटै बिक्री हुने गरेको छ । यहाँको सुन्तला झापाका काँकरभिट्टा, बिर्तामोड र दमक तथा मोरङको विराटनगरसम्म पुग्ने गरेको छ । सीमावर्ती भारतीय बजार सिलिगुडी र नक्सलबारीमा समेत सलकपुरको सुन्तलाको पहिचान बनाएर बिक्री गरिँदै आएको छ ।
इलाम, झापा, मोरङ र सुनसरीका साथै भारतको सिलिगुडी, दार्जिलिङ र कोलकाताबाट समेत पर्यटक सलकपुर पुग्न थालेका छन् । स्थानीय देबेन खड्काका अनुसार गाउँका करिब ३० घरमा सञ्चालित घरबासमा विशेषगरी शुक्रबार र शनिबार पाहुनाको चाप बढ्ने गरेको छ । सलकपुरमा ३० वटा ठूला सुन्तला बगान छन् । बजारमा सुन्तलाको मूल्य प्रतिकिलो २१० देखि २२० रुपैयाँसम्म रहे पनि बगानमै पुग्ने पर्यटकले प्रतिकिलो १३० रुपैयाँमा ताजा सुन्तला किन्न पाउने खड्काले बताए । व्यापारीसमेत बगानमै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् ।
शुक्रबार र शनिबार निन्दा–सलकपुर (कदम पदमार्ग) हुँदै पैदलयात्रा तथा सवारीसाधनबाट पर्यटकको आवागमन बढ्ने गरेको छ । ती दिन झापाका बिर्तामोड, दमक र धुलाबारी, मोरङको उर्लाबारी तथा भारतबाट समेत ३०० देखि ५०० पर्यटक सलकपुर पुग्ने गरेको खड्काको भनाइ छ ।
उनले पनि १० रोपनी जमिनमा सुन्तला बगान लगाएका छन् । यस वर्ष विगतका वर्षको तुलनामा उत्पादन राम्रो भएको उनले बताए । सुन्तलाको स्वाद लिन आउने पर्यटकले बगानमा रमाउनुका साथै नजिकैको गुर्धुम डाँडाबाट सूर्योदयको मनोरम दृश्यसमेत अवलोकन गर्ने गरेका छन् ।
सलकपुरमा सुन्तला खेतीको इतिहास पनि पुरानो छ । विसं २००४ मा दार्जिलिङबाट बसाइँ सरेर आएका गौरीलाल लामाले यहाँ सुरु गरेको सुन्तला खेतीले अहिले व्यावसायिक रूप लिएको हो । सुरुमा दार्जिलिङबाट ल्याइएका बिरुवा रोपिएको भए पनि अहिले पाल्पाबाट ल्याइएका उन्नत जातका बिरुवाले राम्रो उत्पादन दिइरहेका छन् ।
सलकपुर, कुवापानी र जौबारी क्षेत्र सुन्तलासँगै अलैँची, अकबरे खुर्सानी, अम्लिसो र मह उत्पादनका लागि पनि परिचित छन् । यहाँ उत्पादित सुन्तला प्रत्येक वर्ष भारतको कोलकातामा आयोजना हुने सुन्तला महोत्सवमा प्रदर्शन तथा बिक्रीका लागि लैजाने गरिएको छ ।
यसरी सुन्तला खेती, बगान अवलोकन, घरबास र प्राकृतिक दृश्यले सलकपुरलाई कृषि तथा ग्रामीण पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्दै लगेका छन् ।
प्रतिक्रिया दिनुहोस