राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पूर्वी जिल्लामा चुनावी दौडधुपमा छन् । आज बिहान झापाबाट इलाम पुगेर बालेनले आफ्ना पार्टीका उमेदवारसँग छलफल र कार्यकर्तासित भेटघाट गरेका छन् । रास्वपाले इलाम क्षेत्र नम्बर–१ मा विमल गदाल र २ मा गोकुलबहादुर राई चुनावी मैदानमा उतारेका छन् ।
“वरिष्ठ नेता (बालेन) ले मतदाता, समर्थकहरूसँग भेटघाट, उहाँहरूका समस्या सुन्ने काम गरिरहनुभएको छ । सोही क्रममा आज इलाम पुगेका थियौँ । अब ताप्लेजुङ, पाथीभरा हुँदै धनकुटा पनि पुग्ने कार्यक्रम छ,” बालेनका सल्लाहकार कुमार व्यञ्जनकारले बताएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति बालेन झापा–५ बाट उमेदवार बनेका छन् । सोही क्षेत्रबाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत उमेदवार प्रतिस्पर्धामा छन् । पूर्वका अरू जिल्लामा भेटघाट सकाएर बालेन पुनः झापा पुग्नेछन् । झापामा केही दिन बिताएर उनी काठमाडौं फर्किने बालेन टिमले जनाएको छ ।

