नबिल बैंक लिमिटेडले दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवका अवसरमा सञ्चालन गरेको साताव्यापी ‘नबिल ग्रिन विक–२०२६’ वृक्षारोपण कार्यक्रमसँगै सम्पन्न गरेको छ।
बैंकले असार १५ गतेदेखि सञ्चालन गरेको अभियानअन्तर्गत आइतबार काठमाडौंको टोखा नगरपालिका–२ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपेको जनाएको छ। नबिल बैंक र लुम्बिनी वर्ल्ड पिस फोरम नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा टोखा–२ वडा कार्यालयले बिरुवाको संरक्षण गर्ने जिम्मेवारी लिएको छ।
कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, बैंकका कर्मचारी, स्थानीयवासी तथा टोखा–२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले दिगो बैंकिङप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले वृक्षारोपण गरिएको बताए। उनले वातावरण संरक्षणका यस्ता अभियान सफल बनाउन स्थानीय सरकार, साझेदार संस्था र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै लैजानुपर्ने उल्लेख गरे।
उनले बिरुवा रोपेर मात्र नहुने भन्दै त्यसको संरक्षण र नियमित हेरचाहमा स्थानीय समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताए।
बैंकका अनुसार ‘मानिस, पृथ्वी र समृद्धि’को अवधारणामा आधारित दिगो बैंकिङ अभियानअन्तर्गत सञ्चालन गरिएको नबिल दिगो बचत खाता ग्राहकलाई दिगो विकासका प्रयाससँग जोड्ने विशेष बचत योजना हो। वातावरणीय तथा सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्दै ग्राहकलाई दिगो विकास अभियानमा सहभागी गराउने उद्देश्यले उक्त योजना सञ्चालन गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार पछिल्लो पाँच वर्षमा दिगो बैंकिङलाई रणनीतिक प्राथमिकताका रूपमा अघि बढाउँदै नवीकरणीय ऊर्जा, कृषि, स्वच्छ यातायात, महिला उद्यमशीलता तथा सूक्ष्म, साना र मझौला उद्यम (एमएसएमई) क्षेत्रमा उल्लेखनीय लगानी गरिएको छ। यस अवधिमा नवीकरणीय ऊर्जामा ५१ अर्ब ८३ करोड, कृषि क्षेत्रमा ५४ अर्ब २८ करोड, एमएसएमई क्षेत्रमा ४५ अर्ब ७७ करोड, महिला तथा महिला उद्यमी वित्तपोषणमा ४८ अर्ब ६० करोड, स्वच्छ यातायातमा १० अर्ब २८ करोड, पर्यटन क्षेत्रमा ११ अर्ब ८ करोड तथा डीडीएसएल कर्जाअन्तर्गत ५ अर्ब ८४ करोड रुपैयाँ लगानी गरिएको बैंकले जनाएको छ।
यी लगानीबाट एक लाख १२ हजारभन्दा बढी रोजगारी सिर्जना भएको र त्यसमध्ये ३१ प्रतिशत महिलाको सहभागिता रहेको बैंकको दाबी छ। सामाजिक उत्तरदायित्वअन्तर्गत पछिल्लो पाँच वर्षमा २५ करोड ६० लाख रुपैयाँ खर्च गरिएको तथा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिपमार्फत एक हजार ५७७ उद्यमीलाई तालिम प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार दिगो बैंकिङ अभियानअन्तर्गत डिजिटाइजेसनमार्फत २० मेट्रिक टनभन्दा बढी कागज बचत भएको छ। नवीकरणीय ऊर्जा आयोजनामा गरिएको लगानीबाट चार वर्षमा करिब ३९ हजार ४५० टन कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुगेको तथा स्वचालित प्रणालीमार्फत वार्षिक दुई लाख ६२ हजार ८०४ लिटर पानी बचत भएको जनाएको छ।
बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (ईएसआरएम) प्रणालीलाई आफ्नो व्यवसायिक अभ्यासमा समावेश गरेको तथा वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) सम्बन्धी अभ्यासलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार थप सुदृढ बनाउँदै लगेको जनाएको छ। हाल बैंकका कुल कर्मचारीमध्ये ३९.१५ प्रतिशत महिला रहेका छन् भने ५० जना महिलाले विभिन्न शाखा तथा रणनीतिक व्यवसाय इकाइको नेतृत्व गरिरहेका छन्।
हाल नबिल बैंकले देशभर २६६ शाखा, ३१८ एटीएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समय दिगो बैंकिङ र डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ।

