अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ।
सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा नेपालको आर्थिक विकास, पूर्वाधार निर्माण तथा लगानी विस्तारका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले नेपालको विकासमा एडीबीले पुर्याउँदै आएको सहयोग र लगानी परिचालनप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्न आग्रह गरे।
जवाफमा एडीबीका अध्यक्ष कान्डाले नेपालको आर्थिक तथा पूर्वाधार विकासमा सहकार्यलाई एडीबीले उच्च प्राथमिकतामा राखेको बताए। उनले आगामी दिनमा पनि नेपालसँगको साझेदारीलाई थप सुदृढ बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे। 

