काठमाडौंका पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्गलगायत स्थानमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका ५७ विदेशी महिलामध्ये ४७ जनालाई देश निकाला गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै विशेष अपरेसन सञ्चालन गरी उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएको हो। परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकामध्ये ४७ जनालाई अध्यागमन विभागमार्फत देश निकाला गरी सम्बन्धित मुलुक पठाइएको हो। बाँकी १० जनामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्थानीयवासीबाट प्राप्त गुनासोका आधारमा ठमेल र दरबारमार्गलगायत पर्यटकीय क्षेत्रमा विशेष अपरेसन सञ्चालन गरिएको थियो। पक्राउ परेका विदेशी महिलाहरूलाई युगान्डा, भियतनाम, थाइल्यान्ड, बंगलादेश, केन्या र इन्डोनेसियालगायत मुलुकतर्फ पठाइएको एसपी भट्टराईले जानकारी दिए।
“स्थानीयको गुनासोका आधारमा विशेष अपरेसन सञ्चालन गरेर ५७ जनालाई पक्राउ गरेका थियौँ। त्यसमध्ये ४७ जनालाई देश निकाला गरिएको छ भने १० जनामाथि अहिले पनि अनुसन्धान भइरहेको छ,” एसपी भट्टराईले भने।
प्रहरीले पर्यटकीय क्षेत्रको सुरक्षा र स्थानीय बासिन्दाको गुनासोलाई ध्यानमा राख्दै यस्ता गतिविधिविरुद्ध निगरानी तथा कारबाहीलाई निरन्तरता दिने जनाएको छ।
बेटिङ र हुण्डी–क्रिप्टो कारोबारमा संगठित सञ्जालको आशंका
पत्रकार सम्मेलनमा एसपी भट्टराईले नेपालमा अनलाइन सट्टेबाजी (बेटिङ)लाई संस्थागत रूपमा सञ्चालन गरी नेपालीहरूको ठूलो रकम हुण्डी तथा क्रिप्टोमार्फत विदेश पठाउने संगठित सञ्जाल सक्रिय रहेको समेत बताएका छन्।
प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहको पहिचान, बेटिङ वेबसाइटको निगरानी र त्यससँग सम्बन्धित आर्थिक कारोबारको अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।
विचौलियाविरुद्धको अभियानमा ३०९ पक्राउ
यसैगरी, सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउने तथा सेवाग्राहीलाई प्रभावित गर्ने विचौलियाविरुद्धको अभियानअन्तर्गत काठमाडौं प्रहरीले ३०९ जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकामध्ये ६१ जनामाथि कानुनी कारबाही अघि बढाइएको एसपी भट्टराईले जानकारी दिए।

