भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा (निट) को प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर उनीमाथि राजीनामाको दबाब बढिरहेका बेला प्रधानले प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष राजीनामा बुझाएका हुन्।
प्रधानविरुद्ध झण्डै एक महिनादेखि नयाँदिल्लीस्थित जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) लगायतका पक्षले प्रदर्शन गर्दै आएका थिए। प्रश्नपत्र चुहावट प्रकरणमा सरकारको भूमिकालाई लिएर भारतका विभिन्न राज्यमा समेत शिक्षामन्त्री प्रधानको राजीनामा माग हुँदै आएको थियो।
प्रधानले सामाजिक सञ्जाल ‘एक्स’मार्फत राजीनामा दिएको जानकारी गराएका छन्। उनले देशमा उत्पन्न परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिले उठाउन नपाऊन्, राष्ट्रिय एकता कायम रहोस् र कुनै पनि विद्यार्थीको भविष्य कानुनी जटिलतामा नपरोस् भन्ने उद्देश्यले राजीनामा दिएको उल्लेख गरेका छन्।
“जन्तर–मन्तर र देशभर सिर्जना भएको वर्तमान परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिहरूले नउठाऊन्, देशको एकता कायम रहोस्, भारतका एक जना पनि विद्यार्थीको भविष्य कानुनी जटिलतामा नफसोस्, हाम्रा विद्यार्थीहरूले आफ्नो समय अध्ययनमा लगाऊन् र करियर निर्माणमा केन्द्रित होऊन् भन्ने विषयलाई ध्यानमा राख्दै मैले आफ्नो राजीनामा सम्माननीय प्रधानमन्त्रीज्यूलाई पठाएको छु,” प्रधानले लेखेका छन्।
निट प्रश्नपत्र चुहावट प्रकरणपछि भारतमा लाखौँ विद्यार्थी प्रभावित भएको भन्दै सरकारमाथि चर्को आलोचना हुँदै आएको थियो। विपक्षी दलहरूले समेत शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै आएका थिए।
प्रश्नपत्र चुहावट र परीक्षा प्रणालीको विश्वसनीयतामाथि उठेका प्रश्नका कारण विद्यार्थी तथा अभिभावकसमेत लामो समयदेखि आन्दोलनमा थिए। यही दबाबका बीच प्रधानले राजीनामा बुझाएका हुन्।

