नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको सुरुङमार्गको कुल लागत करिब १९ अर्ब रुपैयाँ पुगेको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार मुख्य सुरुङको लम्बाइ २ दशमलव ६८ किलोमिटर छ। मुख्य सुरुङसँगै आपत्कालीन निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस–प्यासेजसमेत जोड्दा आयोजनाअन्तर्गतको कुल सुरुङ संरचनाको लम्बाइ करिब ५ दशमलव ५ किलोमिटर पुग्छ।
जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले वि.सं. २०७६ देखि निर्माण सुरु गरेको यो आयोजना सडक विभागले ‘बिल अफ क्वान्टिटी’ (बीओक्यू) मोडलमा अघि बढाएको हो। आयोजनाको डिजाइन तथा सुपरीवेक्षणमा जापानी परामर्शदाताको सहयोग लिइएको थियो।
उद्घाटनपछि सुरुङमार्ग तत्कालै सर्वसाधारणका लागि पूर्ण रूपमा खुला भने गरिने छैन। प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्र सुरुङ प्रयोग गर्न दिइनेछ। त्यसपछि सुरुङभित्र हुन सक्ने सम्भावित दुर्घटना तथा आगलागीजस्ता विपद्को पूर्वतयारीका लागि ‘मक ड्रिल’ अर्थात् नमुना अभ्यास गरिने विभागले जनाएको छ।
मक ड्रिल सफल भएपछि करिब एक सातासम्म परीक्षणका रूपमा एकतर्फी रूपमा सवारी सञ्चालन गर्ने तयारी छ। उक्त अवधिमा सुरुङभित्र जडान गरिएका जेट फ्यान, वायु प्रवाह तथा अन्य प्राविधिक प्रणालीको परीक्षण गरिनेछ। सबै प्रणालीको प्राविधिक परीक्षण र समायोजनपछि करिब एक महिनाभित्र सुरुङमार्गलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने विभागको योजना छ।
सडक विभागका महानिर्देशक जैसीले सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गाको कठिन उकालो तथा पहिरोको जोखिमबाट यात्रुलाई राहत पुग्ने बताए। उनका अनुसार आयोजनाको निर्माणका क्रममा विभिन्न प्राविधिक चुनौती र स्थानीय तहमा देखिएका अन्योल पार गर्दै आयोजना उद्घाटनको चरणमा पुगेको हो।
“नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग विधिवत् उद्घाटन हुँदैछ। यसले नेपालले आधुनिक सुरुङमार्ग निर्माण गर्न सक्छ भन्ने आत्मविश्वास थपेको छ,” जैसीले भने।
उनका अनुसार सुरुङमार्गको निर्माण बीओक्यूमा आधारित ठेक्का प्रणालीमार्फत जापानी निर्माण व्यवसायी र जापानी सुपरीवेक्षण परामर्शदाताको संलग्नतामा सम्पन्न भएको हो। सिस्नेखोलाबाट माथितर्फको कठिन उकालो र पहिरोको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अध्ययनपछि सुरुङ निर्माण अघि बढाइएको थियो।
सुरुङमार्गमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मोटरसाइकल तथा प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ। अन्य सवारीसाधनलाई भने सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि प्रयोग गर्न दिइनेछ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेश गर्ने तथा बाहिरिने यात्राका लागि नागढुङ्गाको कठिन उकालो र पहिरोको जोखिम घट्ने अपेक्षा गरिएको छ। नेपालको सडक पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको यस आयोजनाले आधुनिक सुरुङ प्रविधिको प्रयोग र ठूला पूर्वाधार निर्माणमा नेपालको क्षमता विस्तार गर्ने विश्वास गरिएको छ।

