होमपेज > सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा

सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा

बिज्ञापन

वर्षौंदेखि दुर्गमताको पर्याय बनेको सिन्धुलीको घ्याङलेख गाउँपालिका अहिले सडक पूर्वाधारको विस्तारसँगै विकासको नयाँ यात्रामा अघि बढेको छ। पिपलडाँडा–हायुटार–रामपुर सडक कालोपत्रे भएपछि स्थानीयको दैनिकी मात्रै सहज भएको छैन, शिक्षा, स्वास्थ्य, कृषि, व्यापार र पर्यटनका सम्भावनासमेत विस्तार हुन थालेका छन्।

केही वर्षअघिसम्म घ्याङलेख पुग्नु आफैँमा चुनौती थियो। दैनिक उपभोग्य वस्तु गाउँसम्म पुर्‍याउन मानिसले नुनदेखि अन्य सामानसम्म पिठ्युँमा बोकेर लैजानुपर्ने अवस्था थियो। वर्षायाममा सडक अवरुद्ध हुँदा गाउँ र सदरमुकामबीचको सम्पर्क नै टुट्ने गर्दथ्यो। बीपी राजमार्गबाट गाउँपालिका केन्द्र हायुटारसम्म पुग्ने मुख्य सडक कच्ची, साँघुरो र जोखिमपूर्ण हुँदा स्थानीय, कर्मचारी, जनप्रतिनिधि र सेवाग्राहीले ठूलो सास्ती खेप्दै आएका थिए।

अहिले भने त्यो विगत क्रमशः इतिहास बन्दै गएको छ।

घ्याङलेख गाउँपालिका–२ का ७८ वर्षीय विन्द्रे स्याङ्तान सडकले गाउँको मुहार नै फेरिदिएको बताउँछन्। युवावस्थामा दैनिक उपभोग्य सामग्री पिठ्युँमा बोकेर गाउँ र शहर ओहोरदोहोर गर्नुपरेको स्मरण गर्दै उनी अहिले सवारीसाधन गाउँमै पुग्दा जीवन निकै सहज बनेको सुनाउँछन्। “सडकले यात्रा मात्र छोट्याएको छैन, गाउँलेको भविष्य पनि उज्यालो बनाएको छ,” उनी भन्छन्।

३७ किलोमिटर सडक, २९.३ किलोमिटर कालोपत्रे

घ्याङलेख गाउँपालिकाका पाँचवटै वडा जोड्ने पिपलडाँडा–हायुटार–रामपुर सडकको कुल लम्बाइ ३७ किलोमिटर छ। हालसम्म २९.३ किलोमिटर सडक कालोपत्रे तथा ढलान भइसकेको छ। पाँचवटा पुलमध्ये तीनवटा पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन्।

पूर्वाधार विकास कार्यालय, सिन्धुलीका अनुसार पहिलो चरणमा पूर्वाधार विकास कार्यालय रामेछापबाट हस्तान्तरण भएको पिपलडाँडादेखि सिम्लेखोलासम्मको १२.८ किलोमिटर सडक कालोपत्रे गरिएको थियो। निर्माण सम्पन्न भएपछि यसको नियमित मर्मतसम्भार सिन्धुलीस्थित पूर्वाधार विकास कार्यालयले गर्दै आएको छ।

भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत सिम्लेखोलामा करिब २० मिटर लामो पुल निर्माण भएपछि वर्षायाममा स्थानीयले भोग्दै आएको जोखिमसमेत घटेको छ। दोस्रो चरणमा सिम्लेखोलादेखि हायुटारसम्मको १०.२ किलोमिटर सडक अस्फाल्ट कालोपत्रे गर्न २०८० असार १९ गते करिब २४ करोड ८८ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो। उक्त सडक २०८२ पुस २८ गते सम्पन्न भएको हो।

त्यस्तै, हायुटार–सोलाभञ्ज्याङ खण्डको ६.३ किलोमिटर सडक कालोपत्रेका लागि २०८१ जेठ १४ गते करिब १० करोड ८० लाख रुपैयाँ लागतमा सम्झौता भई २०८२ कात्तिक २८ गते निर्माण सम्पन्न भएको थियो।

सोही चरणमा घ्याङलेख गाउँपालिका–२ स्थित ठाडीखोलामा ४० मिटर लामो पुल करिब ५ करोड ८७ लाख रुपैयाँ लागतमा निर्माण भएको छ। २०८१ जेठ १४ गते सुरु भएको पुल निर्माण २०८२ जेठ १३ गते सम्पन्न भएको हो। घ्याङलेख–३ स्थित तामाजोर खोलामा पनि ४० मिटर लामो पुल करिब ५ करोड ४० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको छ।

यसरी दोस्रो चरणअन्तर्गत करिब ४६ करोड ९८ लाख रुपैयाँ लागतमा १६.५ किलोमिटर कालोपत्रे सडक तथा तामाजोर र ठाडीखोला पुल निर्माण सम्पन्न भएको छ।

अझै ७.७ किलोमिटर सडक बाँकी

यद्यपि पिपलडाँडा–रामपुर सडक आयोजना पूर्ण रूपमा सम्पन्न भइसकेको छैन। करिब ७.७ किलोमिटर सडक स्तरोन्नति हुन बाँकी छ। सिम्लेखोला–हायुटार खण्डअन्तर्गत हाँडीखोलामा वर्षायाममा आवतजावत अझै जोखिमपूर्ण हुने भएकाले २० मिटर लामो पुल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ।

हायुटार–सोलाभञ्ज्याङ खण्डमा पर्ने मरिण खोलामा पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ। उक्त पुललाई बहुवर्षीय योजनाका रूपमा अघि बढाउने तयारी छ। सोलाभञ्ज्याङदेखि तामाजोर पुलसम्मको सडकका लागि बजेट विनियोजन भई बोलपत्र मूल्याङ्कनको चरणमा छ। तामाजोरदेखि रामपुरसम्मको बाँकी सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

प्रदेश सरकारको प्राथमिकतामा दुर्गम क्षेत्र

वागमती प्रदेश सरकारले प्रदेशभित्रका २५० वटा सडकलाई प्रादेशिक लोकमार्ग र प्रादेशिक मार्गका रूपमा वर्गीकरण गरी निर्माण तथा विस्तारलाई तीव्रता दिएको छ। यी सडकको कुल लम्बाइ ६ हजार ३ सय ५० किलोमिटर रहेको छ।

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाका अनुसार स्थानीय तहका केन्द्र जोड्ने, एउटा प्रादेशिक राजमार्गलाई अर्को राजमार्गसँग जोड्ने तथा राष्ट्रिय राजमार्गबाट प्रदेशका महत्वपूर्ण क्षेत्रसम्म पहुँच विस्तार गर्ने सडकलाई प्राथमिकता दिइएको छ।

प्रदेशका ११९ स्थानीय तहमध्ये अब ३० वटा स्थानीय तहका केन्द्र मात्र पक्की सडकबाट जोडिन बाँकी छन्। ती केन्द्रसम्म पहुँच पुर्‍याउन करिब ३०५ किलोमिटर सडक र ९ वटा पुल निर्माण गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ।

तर प्रदेश सरकारको बुझाइमा सडक निर्माण मात्र विकासको अन्तिम लक्ष्य होइन।

“सडक निर्माण भए पनि जनताको जीविकोपार्जनमा सुधार आएको वा उद्यमशीलतामा आकर्षण बढेको देखिएन। त्यसैले अब सडक निर्माणसँगै उद्यमशीलतालाई पनि सँगै लैजाने नीतिगत व्यवस्था गरी यस वर्ष बजेट विनियोजन गरिएको छ,” सचिव मरहट्टा भन्छन्।

यही सोचअनुसार सिन्धुलीको घ्याङलेखसहित सिन्धुपाल्चोकको पाँचपोखरी, धादिङको रुबी भ्याली र मकवानपुरको राक्सिराङ गाउँपालिकालाई विशेष प्राथमिकतामा राखेर काम अघि बढाइएको छ। स्थानीय तहको केन्द्रदेखि वडासम्म सडक सञ्जाल विस्तार गर्दै त्यसलाई जनताको जीविकोपार्जन र उद्यमशीलतासँग जोड्ने प्रदेश सरकारको लक्ष्य छ।

सडकसँगै बदलिँदै कृषि र बजार

सडक सञ्चालनमा आएपछि घ्याङलेखका स्थानीय उत्पादनले बजार पाउन थालेका छन्। गाउँमा उत्पादित तरकारी, फलफूल तथा अन्य कृषि उपज केही घण्टामै सिन्धुली, बनेपा हुँदै काठमाडौंसम्म पुग्न थालेका छन्।

ढुवानी लागत घटेपछि किसानको आम्दानी बढेको छ। व्यावसायिक कृषि र पशुपालनप्रति आकर्षण पनि बढ्दै गएको स्थानीय बताउँछन्।

गाउँपालिका र हेफर इन्टरनेसनलको सहयोगमा स्थानीय बासिन्दा व्यावसायिक बाख्रापालन तथा तरकारी खेतीतर्फ आकर्षित भएका छन्। सडकको पहुँचले जीविकोपार्जनमुखी कृषिलाई क्रमशः आयआर्जनमुखी व्यवसायमा रूपान्तरण गर्न सहयोग पुर्‍याएको छ।

यही परिवर्तनले घ्याङलेखमा सडकलाई केवल यातायातको पूर्वाधार नभई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्न थालेको छ।

शिक्षकको आँखामा फेरिएको यात्रा

श्री माध्यमिक विद्यालयका शिक्षक मिलन रानामगरले २०७१ सालमा पहिलोपटक विद्यालय पुग्दाको कठिन यात्रा अझै बिर्सेका छैनन्। त्यतिबेला सडकको ट्र्याक भर्खरै खुलेको थियो। ‘पिपल’ क्षेत्रभन्दा अगाडि सवारीसाधन नचल्ने भएकाले हातमा झोला बोकेर पहिरो र हिलो छिचोल्दै पैदल हिँड्नुपरेको उनी सम्झन्छन्।

सिम्ले क्षेत्रमा गएको पहिरो पार गर्दै दिउँसो ३ बजे मात्र विद्यालय पुगेर हाजिर गरेको उनको अनुभव छ। पुलको अभाव र वर्षायाममा खोलामा आउने बाढीका कारण कतिपय अवस्थामा गन्तव्यमा पुग्न नसकेर बीच बाटोमै बास बस्नुपर्ने अवस्था थियो। “त्यतिबेला कच्ची सडकमा केही बोलेरो मात्र जोखिम मोलेर चल्थे,” उनी सम्झन्छन्।

आज भने अवस्था फेरिएको छ। सडक स्तरोन्नतिसँगै यात्रा सहज भएको छ। आकस्मिक अवस्थामा बिरामीलाई तत्काल अस्पताल पुर्‍याउन सकिने अवस्था बनेको छ। शिक्षक, विद्यार्थी र कर्मचारीको नियमित आवतजावत पनि सहज भएको छ।

शिक्षादेखि स्वास्थ्यसम्मको पहुँच विस्तार

सडकको पहुँचले शिक्षामा पनि सकारात्मक प्रभाव पारेको छ। विगतमा वर्षायाममा विद्यालय पुग्न कठिनाइ भोग्ने शिक्षक र विद्यार्थी अहिले नियमित रूपमा आउजाउ गर्न थालेका छन्।

स्वास्थ्य सेवामा पहुँच पनि सहज बन्दै गएको छ। आकस्मिक बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सकिने अवस्था बनेको छ। गाउँपालिका केन्द्रसम्म सहज यातायात पुगेपछि प्रशासनिक सेवा लिन आउने स्थानीयलाई समेत राहत पुगेको छ। यसरी एउटा सडकले यातायातको समस्या मात्र समाधान गरेको छैन, राज्यका आधारभूत सेवा नागरिकको नजिक पुर्‍याउने माध्यमको भूमिका पनि निर्वाह गर्न थालेको छ।

पर्यटनको ढोका पनि खुल्दै

सडकको विस्तारसँगै घ्याङलेखमा पर्यटनका सम्भावना पनि विस्तार हुन थालेका छन्। बुरा बराजु मन्दिर, हापाचुली डाँडा तथा निर्माणाधीन बौद्ध विश्वविद्यालयजस्ता गन्तव्यमा आन्तरिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ। कृषि र पर्यटनलाई सँगसँगै अघि बढाउन गाउँमा होमस्टे तथा व्यावसायिक कृषि कार्यक्रम सञ्चालन भइरहेका छन्।

स्थानीयका अनुसार सडकले बजारसँग मात्र जोडेको छैन, घ्याङलेखको प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदालाई बाहिरी संसारसँग परिचित गराउने अवसरसमेत सिर्जना गरेको छ।

अब सडकबाट समृद्धितर्फ

सडक पूर्वाधार विकास कार्यालय सिन्धुलीका प्रमुख लक्ष्मीप्रसाद सापकोटाका अनुसार गाउँपालिकाका केन्द्रलाई सडक सञ्जालसँग जोड्ने कामलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ। तर घ्याङलेखको अनुभवले एउटा महत्वपूर्ण प्रश्न पनि उठाएको छ- सडक पुगेपछि अब के?

प्रदेश सरकार स्वयंले सडक निर्माणसँगै उद्यमशीलता र जीविकोपार्जनलाई जोड्नुपर्ने आवश्यकता महसुस गरिसकेको छ। त्यसैले अब सडकले बजारसम्म पहुँच मात्र होइन, स्थानीय उत्पादन, रोजगारी, पर्यटन र उद्यमशीलताको विस्तारलाई पनि गति दिनुपर्नेछ।

घ्याङलेखमा सडकले दुर्गमताको पुरानो परिचय बदल्न थालेको छ। अब चुनौती भनेको सडकलाई आर्थिक समृद्धिको माध्यम बनाउनु हो। किनकि विकासको वास्तविक अर्थ सडक कालोपत्रे हुनुमा मात्र छैन। सडक हुँदै गाउँमा उत्पादन बढ्नु, युवाले गाउँमै अवसर पाउनु, किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउनु, बिरामीले समयमै उपचार पाउनु र पर्यटकले गाउँको सम्भावना देख्नुमा छ।

घ्याङलेखको नयाँ यात्रा अब यही दिशातर्फ अघि बढेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  2. बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  3. नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  4. सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  5. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  6. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  7. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  8. नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  9. राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  10. १० नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  11. ११ गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  12. १२ ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  13. १३ सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  14. १४ सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
  15. १५ सुनसरीमा दुई समूहबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा कमान्डमाथि गम्भीर प्रश्न