साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२८ अंकले घटेको छ । बजार परिसूचक ३३ अंकले घटेसँगै २७०१.३२ विन्दुमा झरेको हो ।
बजारमा उच्च गिरावट देखिँदा कारोबार भएका कम्पनीमध्ये ३५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २३५ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आइतबार कुल ६ अर्ब ७ करोड १८ लाख ४४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । दिनभर १ करोड ३९ लाख १३ हजार ७७० कित्ता सेयर ६९ हजार ७१५ पटकको कारोबारमार्फत किनबेच भएको हो ।
कारोबारका क्रममा एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, गरिमा समृद्धि योजना, सानिमा बैंक डिबेन्चर, गुर्खाज फाइनान्स र एनएमबी बैंक डिबेन्चरलगायतका धितोपत्र उच्च मूल्यवृद्धि हुनेमा परेका छन् ।
समूहगत सूचकतर्फ बैंकिङ र म्युचुअल फन्डबाहेकका अधिकांश उपसमूहमा गिरावट आएको छ । साताको सुरुवातमै बजारमा देखिएको व्यापक गिरावटले लगानीकर्ताको मनोविज्ञानमा दबाब परेको संकेत गरेको छ ।

