होमपेज > किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?

किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?

९०० मिलिमिटरको ढल ६०० मिलिमिटरमा खुम्चिँदा ‘बोटलनेक’, म्यानहोल थिचिए, ढलमाथि सरकारी संरचना र प्लास्टिकजन्य फोहोरले निकास अवरुद्ध

बिज्ञापन

काठमाडौंको माइतीघरलगायत आसपासका क्षेत्रमा वर्षायाममा दोहोरिने डुबानको समस्या केवल अत्यधिक वर्षाका कारण मात्र नभई अव्यवस्थित सहरीकरण, ढल प्रणालीमा रहेका प्राविधिक त्रुटि, संरचनागत अतिक्रमण र फोहोर व्यवस्थापनको कमजोरीको संयुक्त परिणाम रहेको पाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजकत्वमा गठित चार सदस्यीय संयुक्त प्राविधिक टोलीले साउन ६ गते गरेको स्थलगत निरीक्षणपछि तयार पारेको अध्ययन प्रतिवेदनले माइतीघर क्षेत्रको डुबानका विभिन्न कारण पहिचान गरेको हो। प्रतिवेदनअनुसार विगतमा माइतीघर चोकसँगै रहेको होचो र खाली क्षेत्रले प्राकृतिक जलाशयका रूपमा काम गर्ने गरेको थियो। थापाथली हाइट, सिंहदरबार र बबरमहलजस्ता अग्ला भूभागबाट आउने वर्षाको पानी उक्त क्षेत्रमा जम्मा हुने र केही समय रोकिएपछि जमिनमुनि सोसिने गरेको थियो।

तर, पछि उक्त खाली क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिल कार्यालयका बहुतले भवन निर्माण भएपछि प्राकृतिक जलाशयको स्वरूप समाप्त भयो। कङ्क्रिट संरचनाले जमिन ढाकेपछि पानी सोसिने क्षमता घट्यो र वर्षाको पानी सिधै माइतीघर चोकतर्फ बग्न थालेको प्रतिवेदनले देखाएको छ।

९०० मिलिमिटरको ढल ६०० मिलिमिटरमा खुम्चिँदा ‘बोटलनेक’

माइतीघर क्षेत्रको डुबानको अर्को प्रमुख कारण ढलको आकार र क्षमताबीचको असन्तुलन रहेको पाइएको छ। मुख्य ढलको माथिल्लो भाग र निकासतर्फ ९०० मिलिमिटर व्यासको पाइप रहे पनि बीचको केही भागमा यसको आकार घटेर ६०० मिलिमिटरमा सीमित भएको छ।

यसरी ठूलो आकारको ढलबाट आएको पानी सानो आकारको पाइपमा प्रवेश गर्दा निकास प्रणालीमा ‘बोटलनेक’ अर्थात् साँघुरो बिन्दु सिर्जना भएको छ। सडक डिभिजन काठमाडौंका प्रमुख सुवोध देवकोटाका अनुसार यसकै कारण पानीको बहाव अवरुद्ध भई पानी जम्ने समस्या देखिएको हो।

नयाँ निर्माण भएका भवनबाट निस्कने घरायसी फोहोर तथा वर्षाको पानीसमेत पुरानै ढल प्रणालीमा जोडिँदा ढलले पानीको बढ्दो परिमाण धान्न नसक्ने अवस्था बनेको प्रतिवेदनमा उल्लेख छ।

टुकुचाको पानी उल्टो फर्किँदा म्यानहोलबाट सडकमा पानी

माइतीघर क्षेत्रको डुबानमा टुकुचा खोला अर्थात् इच्छुमतीको जलस्तर वृद्धि र उल्टो चापले पनि समस्या थप जटिल बनाउने गरेको पाइएको छ। माइतीघरको मुख्य ढल र थापाथली क्याम्पसले निर्माण गरेको नयाँ वर्षे पानी निकास प्रणाली टुकुचा खोलामा गएर मिसिन्छन्। अत्यधिक वर्षाका बेला टुकुचाको जलस्तर बढ्दा निकास बिन्दुमा पानीको चाप बढ्ने र ढलबाट पानी बाहिर निस्कन नसक्ने अवस्था सिर्जना हुन्छ। त्यसपछि ढलभित्र उल्टो चाप उत्पन्न भई होचा क्षेत्रमा रहेका म्यानहोल तथा ढलबाट पानी सडकतर्फ उछिट्टिने गरेको प्रतिवेदनले देखाएको छ।

ढलमाथि सरकारी संरचना, कतै पसल र शौचालय

अध्ययनका क्रममा ढल जाने मार्गमाथि विभिन्न सरकारी तथा निजी संरचना निर्माण भएकोसमेत पाइएको छ। थापाथली क्याम्पस, राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय तथ्याङ्क कार्यालयका संरचना ढल निकासको संरेखणमाथि परेको प्रतिवेदनमा उल्लेख छ। कतिपय स्थानमा ढल छोपेर पसल तथा शौचालयसमेत निर्माण गरिएका छन्। यसले ढलको नियमित निरीक्षण, सफाइ तथा मर्मतसम्भारमा समस्या सिर्जना गरेको छ।

त्यसैगरी, नेपाली सेनाको ब्यारेक क्षेत्रभित्र ढल निकासका लागि राखिएको पाइपसमेत छोपिएको पाइएको छ। जिल्ला प्रहरी परिसर र सरकारी वकिल कार्यालयतर्फको ढललाई वर्षाको पानी निकास गर्ने प्रणालीसँग जोडिएको समेत प्रतिवेदनले औँल्याएको छ।

प्लास्टिक र ठोस फोहोरले सामान्य वर्षामै निकास बन्द

ढलभित्र प्लास्टिकजन्य वस्तु, लत्ताकपडा, बोतल तथा अन्य ठोस फोहोर जम्मा हुँदा सामान्य वर्षामै पानीको निकास अवरुद्ध हुने गरेको पाइएको छ। यसका अतिरिक्त विद्युत् प्राधिकरण, नेपाल टेलिकम र सडक विभागलगायतका निकायले आपसी समन्वयबिना सडक खन्ने र पुर्ने गर्दा ढल प्रणालीमा थप क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।

तत्काल अतिक्रमण हटाउनेदेखि भूमिगत जल अवधारण ट्याङ्कीसम्म

समस्या समाधानका लागि प्राविधिक टोलीले तत्काल र दीर्घकालीन गरी विभिन्न उपाय सिफारिस गरेको छ। तत्कालका लागि ढलमाथि अतिक्रमण गरी बनाइएका संरचना हटाउने, भित्री ढल तथा टुकुचा खोलाको पिँध सफा गर्ने, खोलाको किनारा आवश्यकताअनुसार फराकिलो बनाउने, छोपिएका म्यानहोललाई खुला गर्ने र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय कायम गर्ने सुझाव दिइएको छ।

दीर्घकालीन रूपमा सम्पूर्ण ढल सञ्जालको नक्साङ्कन गर्ने, पूर्ववत् प्राकृतिक जलाशयको क्षतिपूर्ति हुने गरी माइतीघरमुनि भूमिगत जल अवधारण ट्याङ्की निर्माण गर्ने तथा टुकुचा खोलाको निकास बिन्दुमा एकतर्फी जाँच भल्भ र फ्ल्याप गेट जडान गर्ने सिफारिस गरिएको छ। त्यसैगरी, काठमाडौं उपत्यकाको जलाधार क्षेत्रको अध्ययन गरी पछिल्लो वर्षाको अवस्थालाई ध्यानमा राखेर ढल प्रणालीको क्षमता पुनःनिर्धारण र पुनःडिजाइन गर्नसमेत सुझाव दिइएको छ।

शनिबारदेखि ढल सफाइ र अतिक्रमण हटाउने काम सुरु हुने

माइतीघरको डुबान समस्या समाधानका विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरोकारवाला निकायबीच समन्वयात्मक बैठकसमेत बसेको छ। बैठकमा नेपाली सेना, राष्ट्रिय वाणिज्य बैंक, थापाथली क्याम्पस र राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रतिनिधिसमेत सहभागी भएका थिए।

बैठकको निर्णयअनुसार सडक डिभिजन काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त टोलीले शनिबारदेखि ढलमा रहेका अवरोध हटाउने तथा अतिक्रमण गरिएका संरचना हटाउने काम सुरु गर्ने भएको छ। सडक डिभिजनका प्रमुख देवकोटाका अनुसार सेनाको मुख्यालय जाने बाटोमा रहेको कल्भर्टमा असर नपर्ने गरी त्यसअगाडिको प्राकृतिक निकासलाई पूर्ण रूपमा खुला गरिनेछ। पहिलो चरणमा अवरुद्ध ढल सफा गरी तत्काल पानी निकास सहज बनाउने र त्यसपछि दीर्घकालीन समाधानका काम अघि बढाउने सडक डिभिजनले जनाएको छ।

माइतीघरको डुबान समस्या वर्षा सुरु भएपछि मात्र समाधान खोज्ने विषय नभई सहरी योजना, ढल पूर्वाधार, सरकारी संरचना निर्माण र वातावरणीय व्यवस्थापनसँग जोडिएको दीर्घकालीन चुनौतीका रूपमा देखिएको छ। प्राविधिक प्रतिवेदनले औँल्याएका कारण र सुझावलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके आगामी वर्षमा दोहोरिने डुबानको जोखिम कम गर्न सकिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  2. लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  3. रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  4. किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  5. नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  6. सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  7. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?
  8. अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने
  9. चमेलिया नदीमा थप २८.३० मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजना बन्ने
  10. १० देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
  11. ११ साउनमा असुलिएको विद्युतको भ्याट भदौको बिलमा समायोजन हुने, असार मसान्तसम्म खपत भएको विद्युतमा भ्याट नलाग्ने
  12. १२ राजस्वको बिग्रिएको लय र चुहावट नियन्त्रणमा अर्जुनदृष्टि लगाउन अर्थमन्त्रीको निर्देशन (भिडियो)
  13. १३ राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीमाथि निगरानी कडा बनाउँदै, सीईओ र सञ्चालकलाई कारबाही
  14. १४ सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  15. १५ बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)