सहकारी संस्थामा बचत गरेको रकम फिर्ता नपाएका बचतकर्ताहरू पुनः आन्दोलनमा उत्रिएका छन्। सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा सोमबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्दै उनीहरूले सरकारले सबै बचतकर्तालाई समान व्यवहार गर्दै बचत रकम फिर्ताको सुनिश्चितता गर्न माग गरेका हुन्।
प्रदर्शनमा सहभागी पीडितहरूले बचत रकमको आकारका आधारमा ‘साना’ र ‘ठूला’ बचतकर्ता भनेर वर्गीकरण गर्नु अन्यायपूर्ण भएको भन्दै त्यसलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले सरकारले यस्तो नीति अपनाएर पीडितबीच विभाजन सिर्जना गर्न खोजेको आरोपसमेत लगाएका छन्।
सहकारी पीडित बचतकर्ता महासंघका अध्यक्ष कुशलभ केसीले विगतमा आन्दोलनमा सहभागी भएका पीडितहरूको बचत रकम प्राथमिकताका साथ फिर्ता गर्न सरकारसँग माग गरे। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि मागको सुनुवाइ नभएको भन्दै उनले सरकारप्रति असन्तुष्टि व्यक्त गरे।
उनले सरकारसँग भएका पूर्वसहमतिहरू तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै प्रभावकारी पहल नभए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिए। सरकारले ठूला ऋणीबाट कर्जा असुल गरेर साना बचतकर्ताको रकम फिर्ता गर्ने रणनीति अघि सारेको छ। तर आन्दोलनरत पीडितहरूले यस्तो नीतिले सबै बचतकर्ताप्रति समान न्याय नहुने र पीडितबीच विभाजन ल्याउने दाबी गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘पीडितलाई न्याय दिइयोस्’, ‘फुटाउने षड्यन्त्र बन्द गर’, ‘साना र ठूला बचतकर्तालाई समान व्यवहार गर’ तथा ‘पीडितले न्याय कहिले पाउने?’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
उनीहरूले विभिन्न सहकारीका बचतकर्ताको रकम फिर्ता नगरेको आरोप लागेका सञ्चालकहरूको तस्बिरसहितका ब्यानर पनि प्रदर्शनमा राखेका थिए।
महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन, दोषी सहकारी सञ्चालकमाथि कानुनी कारबाही तथा सबै बचतकर्ताको रकम फिर्ताको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने जनाएको छ।

