साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। सोमबार घटेको बजारले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
मंगलबार नेप्से परिसूचक ४.६४ अंकले घटेर २ हजार ६९६.६७ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ०.७० अंक, फ्लोट इन्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१८ अंकले घटेका छन्।
नेप्सेसँगै मंगलबार कारोबार रकममा पनि कमी आएको छ। सोमबार करिब ६ अर्ब ८ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ३४२ कम्पनीका १ करोड ४ लाख २१ हजार कित्ता सेयर ५५ हजार ५८० पटकको कारोबारमा किनबेच भएका छन्। कुल कारोबार रकम ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार रुपैयाँ रहेको छ।
कारोबारमा एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य ११२ रुपैयाँ ३० पैसाले बढेर ८६१ रुपैयाँ पुगेको छ। त्यस्तै, लक्ष्मी उन्नति कोषको इकाइ मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।
यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ६.०७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको २७ करोड १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यस्तै, रिडी पावर कम्पनीको २१ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको १९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
मंगलबार १३ उपसमूहमध्ये चार उपसमूहको सूचक बढेको छ भने नौ उपसमूहको सूचक घटेको छ। वित्त, होटल तथा पर्यटन, जलविद्युत् र व्यापार उपसमूहको सूचक सामान्य अंकले बढेका छन्। बाँकी उपसमूहका सूचक भने घटेका छन्।

