होमपेज > नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?

परीक्षण चरण पूरा भएपछि केही दिनमै सबै प्रकारका सवारी सञ्चालन गरिने, सार्वजनिक यातायात व्यवसायीले शुल्क पुनरावलोकन गर्न माग

बिज्ञापन

नेपालको यातायात पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ। ‘अपरेसनल’ तथा ‘मेन्टिनेन्स’ परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि सोमबार आयोजित समारोहबीच सुरुङमार्गको उद्घाटन गरिएको हो।

नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण भएको यस आयोजनाको सञ्चालनसँगै नेपाल औपचारिक रूपमा सुरुङमार्गको युगमा प्रवेश गरेको यातायात व्यवसायी तथा पूर्वाधार विज्ञहरूले बताएका छन्। लामो समयदेखि आधुनिक सुरुङमार्गमा सवारी चलाउने नेपाली जनताको सपना अब व्यवहारमै कार्यान्वयनमा आएको उनीहरूको भनाइ छ।

केही दिन परीक्षणपछि पूर्ण रूपमा सञ्चालनमा आउने

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सुरुङमार्ग हाल केही दिन परीक्षण चरणमा रहनेछ। सुरुङमार्ग पूर्ण रूपमा सर्वसाधारणका लागि खुला नभएसम्म कुनै शुल्क नलिइने उनले स्पष्ट पारे।

अन्तिम चरणको प्राविधिक परीक्षणका रूपमा ‘मक ड्रिल’ गर्न बाँकी रहेको भन्दै उनले केही दिनमै सबै प्रकारका सवारीका लागि सुरुङमार्ग सञ्चालनमा ल्याइने जानकारी दिए। उनका अनुसार सुरुङमार्गको डिजाइन आयु १०० वर्ष रहेको छ। सुरुङमार्गलाई मापदण्डअनुसार नियमित रूपमा सञ्चालन र मर्मतसम्भार गर्न सके डिजाइन गरिएको आयुसम्म टिक्ने उनको भनाइ छ।

सार्वजनिक यातायात व्यवसायीले शुल्क पुनरावलोकन गर्न माग गरे नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सुरुङमार्ग उद्घाटनप्रति खुशी व्यक्त गर्दै देशभर निर्माणाधीन अन्य सुरुङमार्गलाई पनि तीव्र गतिमा अघि बढाउन सरकारसँग आग्रह गरे। सुरुङमार्ग सञ्चालनमा आएपछि यात्राको समय बचत हुनुका साथै नागढुङ्गाको कठिन सडक खण्डमा हुने सम्भावित दुर्घटनाको जोखिमसमेत कम हुने उनले बताए।

तर, सुरुङमार्ग प्रयोग गरेबापत सार्वजनिक तथा मालवाहक सवारीसाधनका लागि तोकिएको शुल्कप्रति उनले असन्तुष्टि व्यक्त गरे। सुरुङमार्ग सञ्चालनको लागत र सार्वजनिक यातायात व्यवसायीमाथि पर्ने आर्थिक भारलाई समेत ध्यानमा राखेर शुल्क पुनरावलोकन गर्नुपर्ने उनको भनाइ छ।

सुरुङ सञ्चालन खर्च बढी, एकीकृत व्यवस्थापनबाट लागत घटाउने योजना

पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालको भौगोलिक अवस्थाका कारण सुरक्षित र छिटो यात्राका लागि सुरुङमार्ग अपरिहार्य बन्दै गएको बताए।

उनका अनुसार चालु आर्थिक वर्षभित्रै ९०० मिटर लामो सिद्धबाबा सुरुङमार्गसमेत सञ्चालनमा ल्याउने लक्ष्य छ। काठमाडौं–तराई द्रुतमार्गसहित अन्य ६ वटा सुरुङमार्ग निर्माणको काम पनि तीव्र गतिमा अघि बढिरहेको उनले जानकारी दिए।

सुरुङमार्गभित्र सुरक्षा, निगरानी तथा हावाको गुणस्तर कायम राख्न २४ सै घण्टा प्राविधिक जनशक्ति आवश्यक पर्ने भएकाले यसको सञ्चालन खर्च तुलनात्मक रूपमा बढी हुने सचिव सिग्देलले बताए। भविष्यमा धेरै सुरुङमार्ग सञ्चालनमा आए एउटै एकीकृत व्यवस्थापन प्रणालीमार्फत सञ्चालन गर्दा लागत घटाउन सकिने उनको भनाइ छ।

कुन सवारीले कति शुल्क तिर्नुपर्छ?

सडक विभागका अनुसार सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरले काठमाडौं भित्रिँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ। यस्तै, ठूला बस तथा ट्रकले काठमाडौं भित्रिँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

सुरक्षाका कारण मोटरसाइकल, दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधन र पैदलयात्रीलाई सुरुङमार्गभित्र प्रवेश गर्न दिइने छैन। प्रज्वलनशील तथा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई पनि सुरुङमार्ग प्रयोगमा रोक लगाइएको छ।

२२ अर्बको अनुमानित लागत २७ अर्बभन्दा माथि

२०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यस आयोजनाको प्रारम्भिक लागत करिब २२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो। निर्माणका क्रममा देखिएका भूगर्भीय समस्या, डिजाइनमा गरिएको परिमार्जन तथा अन्य प्राविधिक कारणले आयोजनाको कुल लागत २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

निर्माण लागत र सञ्चालन खर्चका दृष्टिले चुनौतीपूर्ण भए पनि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले नेपालको आधुनिक यातायात पूर्वाधार विकासमा नयाँ मानक स्थापित गरेको छ। यस आयोजनाको सञ्चालनसँगै कठिन भौगोलिक अवस्थाबीच सुरक्षित, छोटो र व्यवस्थित यातायात पूर्वाधार निर्माण गर्ने नेपालको यात्राले थप गति पाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  2. सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  3. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?
  4. अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने
  5. चमेलिया नदीमा थप २८.३० मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजना बन्ने
  6. देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
  7. साउनमा असुलिएको विद्युतको भ्याट भदौको बिलमा समायोजन हुने, असार मसान्तसम्म खपत भएको विद्युतमा भ्याट नलाग्ने
  8. राजस्वको बिग्रिएको लय र चुहावट नियन्त्रणमा अर्जुनदृष्टि लगाउन अर्थमन्त्रीको निर्देशन (भिडियो)
  9. राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीमाथि निगरानी कडा बनाउँदै, सीईओ र सञ्चालकलाई कारबाही
  10. १० सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  11. ११ बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  12. १२ नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  13. १३ सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  14. १४ साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  15. १५ नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला