सन् २०२६ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत हुने कोरियन भाषा परीक्षाको पहिलो चरणको आवेदन सोमबारदेखि खुल्ने भएको छ। ईपीएस कोरिया शाखाका अनुसार इच्छुक नेपालीले जुलाई २७ देखि अगस्ट २ सम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
शाखाका अनुसार अंकमा आधारित छनोट प्रणालीअनुसार पहिलो चरणको भाषा परीक्षामा अनुमानित ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी गरिएको छ। प्रस्तावित कोटाअनुसार उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ हजार र वन क्षेत्रमा १ हजार जना छनोट हुनेछन्।
यद्यपि, पहिलो चरणको भाषा परीक्षाको उत्तीर्ण संख्या निश्चित नहुने शाखाले जनाएको छ। परीक्षामा सहभागीको प्रदर्शनका आधारमा उत्तीर्ण हुने न्यूनतम अंक निर्धारण हुने तथा कोरियामा नेपाली कामदारको मागअनुसार उत्तीर्ण हुने संख्या थपघट हुन सक्नेछ।
पहिलो चरणको भाषा परीक्षा उत्तीर्ण गर्ने उम्मेदवारले त्यसपछि दोस्रो चरणको सीप परीक्षण तथा कार्यक्षमता मूल्याङ्कनमा सहभागी हुनुपर्नेछ। दोस्रो चरणसमेत उत्तीर्ण गरेपछि मात्र उनीहरू अन्तिम छनोट प्रक्रियामा सहभागी हुन योग्य हुनेछन्।
ईपीएसअन्तर्गत कोरिया जान चाहने नेपाली युवाका लागि भाषा परीक्षा पहिलो चरणको महत्वपूर्ण प्रक्रिया हो। आवेदन खुल्ने भएपछि इच्छुक उम्मेदवारले तोकिएको अवधिभित्र अनलाइन आवेदन दिनुपर्नेछ।

