नेपालसहित विश्वका विभिन्न मुलुकमा राजनीतिक दलको निर्माण, संगठन सुदृढीकरण र प्रभावकारी सञ्चालनका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको अवधारणा उपयोगी हुनसक्ने विज्ञहरूले बताएका छन्।
‘फ्रेन्डस अन क्लाउड’ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राजनीतिज्ञ जगन्नाथ खतिवडा, परराष्ट्रविद् डा. गोपाल खनाल, पूर्वराजदूत महेशराज दाहाल, अनुसन्धानकर्ता डा. दीपक देवकोटा र क्लाउडका अध्यक्ष शोभित उप्रेतीले पार्टी निर्माणमा राष्ट्रपति सी जिनपिङका विभिन्न अवधारणा र दृष्टिकोणबारे धारणा राखेका हुन्।
कार्यक्रममा पूर्वराजदूत महेशराज दाहालले राष्ट्रपति सीको अध्ययनशील बानी नै पार्टी र राष्ट्र निर्माणको आधारशिला बनेको बताए। उनका अनुसार श्रम शिविरमा रहँदा समेत सीले निरन्तर अध्ययन गरेका थिए।
दाहालले सी लामो सोच र नयाँ दृष्टिकोणका साथ अघि बढ्ने नेता भएको उल्लेख गर्दै सिर्जनशीलता र परिवर्तनकारी सोचले पार्टी तथा राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए। पार्टी सदस्यता प्राप्त गर्न समेत सीले लामो संघर्ष गरेकाले पार्टी कस्तो हुनुपर्छ भन्ने विषयमा उनले गहिरो बुझाइ विकास गरेको दाहालको भनाइ थियो।
राम्रो दृष्टिकोण र स्पष्ट सोचका आधारमा पार्टी तथा राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने कुरा सीले व्यवहारमै प्रमाणित गरेको दाहालले बताए। उनका अनुसार सीको पार्टी निर्माणको अवधारणामा भ्रष्टाचारविरुद्धको अभियान, दलभित्रको शुद्धता, नेतृत्वको जिम्मेवारी र कर्तव्यसँगै प्रविधि विकास, जनसहभागिता तथा विज्ञानमा लगानीलाई प्राथमिकता दिइएको छ।

अनुसन्धानकर्ता डा. दीपक देवकोटाले राष्ट्रपति सीले राज्यप्रति जनतामा डर नभई भरोसा सिर्जना गर्ने प्रयासमार्फत सफलता हासिल गरेको धारणा राखे। जनतालाई केन्द्रमा राखेर पार्टी र राष्ट्र निर्माणमा सी सफल भएको उनको भनाइ थियो।जनताले विश्वास गर्ने पार्टी निर्माणका लागि सीले सुशासन र सुरक्षालाई प्राथमिकता दिएको देवकोटाले बताए।
परराष्ट्रविद् डा. गोपाल खनालले विश्वव्यापी सुशासन अभियान तथा नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद राष्ट्रपति सी जिनपिङको पार्टी निर्माणसम्बन्धी स्पष्ट अवधारणा भएको बताए। पार्टी नियम र देश कानुनबाट सञ्चालन हुनुपर्छ भन्ने मान्यता सीले स्थापित गरेको खनालको भनाइ थियो। जनतालाई विकासको प्रतिफल दिने सोच नै सीको मूल दृष्टिकोण रहेको उनले बताए। खनालले चीनमा आर्थिक अनियमिततामा संलग्न ७० लाखभन्दा बढी व्यक्तिमाथि कारबाही गरिएको जानकारी दिँदै राष्ट्रपति सीको सुशासन अभियानको प्रशंसा गरे।
राजनीतिज्ञ जगन्नाथ खतिवडाले अनुशासन, अनुगमन र आत्मसमीक्षालाई राष्ट्रपति सीको पार्टी तथा राष्ट्र निर्माणको आधारशिलाका रूपमा व्याख्या गरे। राष्ट्रपति सीले विचार निर्माण, राजनीति निर्माण र संगठन निर्माणमा जोड दिँदै पार्टीमा गुणस्तरीय सदस्यलाई मात्र स्थान दिएको खतिवडाले बताए। चीन नेपालको छिमेकी तथा शक्तिशाली राष्ट्र भएकाले राजनीतिक दलको एकता, दीर्घकालीन सोच र योजनाका साथ अघि बढ्ने विषयमा नेपालले पनि सिक्नुपर्ने खतिवडाको भनाइ थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले राजनीतिक दललाई प्रभावकारी, अनुशासित र जनमुखी बनाउन विचार, संगठन, सुशासन, जनसहभागिता तथा दीर्घकालीन योजनाको महत्वमा जोड दिएका थिए।

