अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेन्डामा नजिकको समन्वय भइरहेको दाबी गर्दै बजारमा फैलिएका अफवाहको पछि नलाग्न उद्यमी–व्यवसायीलाई आग्रह गरेका छन्।
पछिल्लो समय प्रधानमन्त्री साहले निजी क्षेत्रसँग गरेका छलफलमा अर्थमन्त्री वाग्ले अनुपस्थित भएपछि प्रधानमन्त्रीले अर्थ मन्त्रालयको नेतृत्व गरिरहेका वाग्लेलाई बेवास्ता गरेको भन्दै समाचार सार्वजनिक भइरहेका बेला उनले मंगलबार अर्थ मन्त्रालयमा उद्यमीहरूसँगको छलफलमा यस्तो स्पष्टीकरण दिएका हुन्। आर्थिक मुद्दामा प्रधानमन्त्री तहबाट लामो समययताकै गहिरो चासो र समन्वय भइरहेको उनले बताए। प्रधानमन्त्री स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा रहेको र उद्यमी–व्यवसायीले उठाएका विषयमा तत्काल आफू तथा सम्बन्धित मन्त्रीसँग समन्वय र फलोअप गर्ने गरेको उनले बताए।
सरकार निजी क्षेत्रको लगानी सुरक्षित गर्न र त्यसको प्रतिफल सुनिश्चित गर्न प्रतिबद्ध रहेको उनले दोहोर्याए। ‘हाम्रो साझा एजेन्डा भनेको लगानी नै हो। प्रधानमन्त्रीज्यू स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा हुनुहुन्छ। मुख्य विषयमा उहाँले सोझै र तत्काल म लगायतका मन्त्रीसँग फलोअप गरिरहनुभएको छ,’ उनले भने। प्रधानमन्त्री र निजी क्षेत्रबीच प्रत्यक्ष संवाद होस् भन्ने उद्देश्यले आफू केही छलफलमा उपस्थित नभएको उनले बताए। ‘बजारमा अर्थमन्त्री देखिएन भन्ने चर्चा छ। यो व्यवसायी र प्रधानमन्त्रीज्यूबीच प्रत्यक्ष, नो फिल्टर र नो इन्टरमिडियसन संवाद होस् भन्ने चाहना पनि हो,’ उनले भने।
प्रधानमन्त्रीले उद्यमी–व्यवसायीले उठाएका विषयमा आफूलाई प्रत्यक्ष जानकारी गराउने र आवश्यक विषयमा निरन्तर छलफल तथा समन्वय भइरहेको उनले बताए। मन्त्रिपरिषद्को बैठकपछि समेत प्रधानमन्त्रीसँग आर्थिक विषयमा छलफल हुने गरेको उनको भनाइ छ। ‘व्यवसायी तथा उद्यमीले उठाएका प्रधान विषयमा प्रधानमन्त्रीज्यूले सिधै हामीलाई फोन गरेर यो विषय यस्तो रहेछ, फलानो वस्तुको दर यस्तो रहेछ भनेर विस्तृतमा बुझ्नुहुन्छ। हाम्रो निरन्तर संवाद भइरहेको हुन्छ। प्रत्येक मन्त्रिपरिषद् बैठकपछि पनि म प्रधानमन्त्रीज्यूसँग बस्छु,’ उनले भने।
बजारमा फैलिएका विभिन्न अफवाह र हल्लाले प्रधानमन्त्री र अर्थमन्त्रीबीच समन्वय नभएको देखाउन खोजिए पनि वास्तविकता त्यस्तो नभएको उनले बताए। ‘बजारमा अनेक अफवाह र झुट फैलाइन्छ। यस्ता कुरामा विश्वास गर्न छोड्नुपर्छ। आर्थिक मुद्दामा प्रधानमन्त्री तहबाट यति नजिकको समन्वय र गहिरो चासो धेरै लामो समयपछि देखिएको हो,’ उनले भने। प्रधानमन्त्रीसँग आर्थिक मुद्दामा निरन्तर गहिरो छलफल र समन्वय भइरहेको भन्दै उनले उद्यमी–व्यवसायीलाई बजारका हल्लाको पछि नलाग्न आग्रह गरे।
‘आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रको नेतृत्व उद्योग क्षेत्रले गर्नुपर्छ’
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रलाई स्वदेशी उत्पादनमार्फत आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रमा रूपान्तरण गर्न उद्योग क्षेत्रले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन्। उद्यमीसँगको छलफल कार्यक्रममा बोल्दै उनले लामो समयदेखि नेपालले गुमाउँदै आएको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यमा पुनःस्थापित गर्नुपर्ने बताए।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले गरेको लगानी सुरक्षित हुने, उचित प्रतिफल प्राप्त गर्ने र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए। निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता भएको भन्दै उनले उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताए।
अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रम तीव्र गतिमा कार्यान्वयन भइरहेको बताए। आवश्यक कानुनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारलाई समयबद्ध रूपमा अघि बढाइने उनले बताए। पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पुँजी बजार तथा वित्तीय क्षेत्र सुधार गर्ने र लगानीको वातावरण सुदृढ बनाउने काम समानान्तर रूपमा अघि बढिरहेको उनले बताए।
‘सरकार आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छ। त्यसैले आजको बैठकलाई नियमित छलफलका रूपमा होइन, नेपालको आर्थिक रूपान्तरणको नयाँ चरण प्रारम्भ गर्ने साझा कार्यशालाका रूपमा अगाडि बढाऔँ,’ उनले भने।
निजी क्षेत्रको लगानी सुरक्षित गर्ने सरकारको प्रतिबद्धता
अर्थमन्त्री वाग्लेले नेपाललाई लगानीमैत्री र व्यवसायमैत्री अर्थतन्त्रका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए। निजी क्षेत्रमा देखिएका लगानीका अवरोध हटाउँदै उद्यमीलाई आत्मविश्वासका साथ लगानी गर्न, उत्पादन बढाउन, उद्योग विस्तार गर्न र नयाँ उद्यम सुरु गर्न सक्ने वातावरण बनाउने उनले बताए। ‘आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व अब उद्योग क्षेत्रले गर्नुपर्छ,’ उनले भने, ‘लामो समयदेखि नेपालले गुमाउँदै आएको औद्योगिक अवसरलाई अब हामी सँगै पुनःस्थापित गरौँ।’
निजी क्षेत्रले गरेको लगानी सुरक्षित रहने र त्यसबाट उचित प्रतिफल प्राप्त हुने वातावरण निर्माण गर्ने प्रतिबद्धता दोहोर्याउँदै उनले उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहने बताए।
अर्थमन्त्री वाग्लेले लगानी, उत्पादन, उद्योग विस्तार, नयाँ उद्यम स्थापना र रोजगारी सिर्जनामार्फत नेपालको आर्थिक भविष्य निर्माण गर्ने साझा लक्ष्यमा केन्द्रित हुन उद्यमीलाई आग्रह गरे। सरकारले सुधारको गति बढाउने, निजी क्षेत्रका अवरोध हटाउने र उद्यमी–व्यवसायीसँग निरन्तर सहकार्य गर्ने उनले बताए। लगानी र उत्पादन बढाउँदै उत्पादकत्व अभिवृद्धि गर्न सके मात्रै नेपालको आर्थिक भविष्य बलियो बन्ने उनको भनाइ थियो।

