भारतले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा पठाएको पुष्टि गरेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाइएको जानकारी दिएका हुन्।
पत्रकार सम्मेलनमा एक पत्रकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा पठाइएको हो कि होइन भनेर सोधेको प्रश्नमा प्रवक्ता जयसवालले भने, ‘हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पठाइएको छ।’
यसैबीच, भारतको विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्रीका सल्लाहकारको भारत भ्रमणबारे भने अनभिज्ञता जनाएको छ। पत्रकार सम्मेलनमा नेपालबाट विशेष दूत भारत भ्रमणमा आएको हो कि होइन भन्ने प्रश्नमा प्रवक्ता जयसवालले आफूलाई त्यसबारे जानकारी नभएको बताएका हुन्।
यसअघि प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनले भारत भ्रमण गरेको समाचार सार्वजनिक भएको थियो। भारतले प्रधानमन्त्री शाहलाई औपचारिक भ्रमणको निमन्त्रणा पठाएको पुष्टि गरेसँगै अब उनको भारत भ्रमणको मिति र कार्यक्रमबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।

