ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ।
नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा एपमार्फत ग्लोबल आइएमई बैंकको वेबसाइटमा उपलब्ध क्यूआर कोड स्क्यान गरी व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्। यसका लागि आवश्यक क्यूआर कोड बैंकले उपलब्ध गराएको सम्बन्धित लिङ्कमार्फत प्राप्त गर्न सकिनेछ।
बैंकका अनुसार, नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवाले सर्वसाधारणलाई बैंक खाता खोल्ने प्रक्रिया थप सहज बनाउनेछ। १८ वर्ष वा सोभन्दा माथिका, राष्ट्रिय परिचयपत्र प्राप्त गरी नागरिक एपमा आबद्ध नेपाली नागरिकले अनलाइन माध्यमबाटै बैंकमा खाता खोल्न सक्नेछन्।
यस प्रक्रियामा ग्राहकको पूर्वसहमति लिएर खाताका लागि आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गरिने बैंकले जनाएको छ। यसबाट ग्राहकले व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै व्यक्तिगत सूचना तथा गोपनीयताको सुरक्षासमेत सुनिश्चित हुने बैंकको भनाइ छ।
नागरिक एपमार्फत खाता खोलेपछि खाता सञ्चालनका लागि ग्राहकले नजिकको शाखा कार्यालयमा उपस्थित भएर वा भिडियो केवाईसीमार्फत आफ्नो परिचय प्रमाणीकरण गर्नुपर्नेछ।
नयाँ सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ सेवाको विस्तार गरेको जनाएको छ। नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई सहज, पारदर्शी तथा प्रविधिमैत्री बनाउँदै ग्राहकलाई आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने बैंकको विश्वास छ।
आधुनिक प्रविधि र ग्राहक सेवाका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको जनाएको छ। बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्सअन्तर्गत सन् २०२२, २०२४ र २०२५ मा विभिन्न सम्मान तथा ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ लगायतका पुरस्कारसमेत प्राप्त गरेको छ।
ग्लोबल आइएमई बैंकका अनुसार बैंकले मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा हाल ३४२ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायत मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको जनाएको छ।

