सरकारको नाममा लामो समयदेखि बुझाउन बाँकी रकम नतिरेका ५२ जनाको तीन पुस्तासहितको विस्तृत विवरण सार्वजनिक गरिएको छ। महालेखा नियन्त्रकको कार्यालय अन्तर्गत कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले ती व्यक्तिहरूको नाम, ठेगाना र बाँकी रकमसहितको सूची सार्वजनिक गर्दै तोकिएको समयसीमाभित्र बक्यौता रकम बुझाउन निर्देशन दिएको हो।
कार्यालयले जारी गरेको सूचनाअनुसार सूचीमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, पोखरास्थित दि फूलबारी लिमिटेडका पियुष बहादुर अमात्यसहित विभिन्न कर्मचारी, कृषि व्यवसायमा संलग्न व्यक्ति तथा सशस्त्र प्रहरीका सदस्यसमेत परेका छन्।
सरकारले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूलाई ३५ दिनभित्र साँवा तथा ब्याजसहित रकम भुक्तानी गर्न आग्रह गरेको छ। तोकिएको समयभित्र रकम नतिरेमा सम्बन्धित व्यक्तिहरूको चल तथा अचल सम्पत्तिबाट प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।
केन्द्रीय तहसिल कार्यालयका अनुसार यसअघि पनि सरकारी बक्यौता तिर्न बाँकी रहेकाहरूको अभिलेख तयार गरी वेबसाइट, सार्वजनिक सूचना तथा सम्बन्धित व्यक्तिहरूको ठेगानामा पत्राचारमार्फत पटक–पटक जानकारी गराइएको थियो। साथै कार्यालयमा उपस्थित हुनसमेत सूचित गरिए पनि बक्यौता रकम असुल हुन नसकेपछि बाध्य भएर तीन पुस्तासहितको विवरण सार्वजनिक गर्नुपरेको कार्यालयको भनाइ छ।
सरकारले बक्यौता असुलीलाई कडाइका साथ अघि बढाउने नीति लिएको भन्दै सार्वजनिक सूचीमा परेकाहरूलाई समयमै रकम बुझाई कानुनी झमेलाबाट जोगिन आग्रह गरेको छ।


