सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रम बुधबार (माघ ७) पनि जारी रहँदा प्रतितोला १० हजार ४०० रुपैयाँले वृद्धि भएको छ। यससँगै छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्चमध्ये एक हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, डलरको उतारचढाव तथा लगानीकर्ताको आकर्षण बढ्नुले स्वदेशी बजारमा पनि सुनको मूल्य तीव्र गतिमा बढेको व्यवसायीहरूको भनाइ छ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले वृद्धि भई पाँच हजार ९२० रुपैयाँ पुगेको छ। मंगलबार चाँदीको मूल्य पाँच हजार ८८० रुपैयाँ रहेको थियो।
सुनचाँदीको मूल्यमा देखिएको तीव्र वृद्धिले बजारमा लगानीकर्ता र उपभोक्ताबीच चासो बढाएको छ।

