२०८३, कार्तिक ९ गते

बाइक किन्न नसक्नेलाई पनि राइड–हेलिङमा अवसर, इनोहभले फ्लीट ५०० पुर्‍याउँदै

बुधवार , आश्विन १४, २०८३

आफ्नै मोटरसाइकल खरिद गर्न नसक्ने व्यक्तिलाई समेत राइड-हेलिङमार्फत आम्दानीको अवसर उपलब्ध गराउँदै आएको इनोहभ सर्भिसेस प्रालिले आफ्नो बाइक फ्लीट विस्तार गर्ने भएको छ। याङ्गोको स्थानीय फ्लीट पार्टनरका रूपमा काठमाडौं उपत्यकामा सेवा दिँदै आएको कम्पनीले हालको २५० भन्दा बढी बाइकको फ्लीटलाई तिहारपछि ५०० पुर्‍याउने तयारी गरेको हो।

कम्पनीका अनुसार करिब एक वर्षदेखि याङ्गोसँगको साझेदारीमा राइड-हेलिङ सेवा सञ्चालन गरिरहेको इनोहभसँग हाल ५०० भन्दा बढी राइडर आबद्ध छन्। फ्लीट विस्तारसँगै आफ्नै सवारीसाधन नभएका व्यक्तिलाई समेत राइड-हेलिङ क्षेत्रमा आबद्ध गराउने कम्पनीको योजना छ।

बाइक किन्न अग्रिम लगानी गर्न नपर्ने

इनोहभले विशेषगरी मोटरसाइकल खरिदका लागि आवश्यक रकम जुटाउन नसकेका तर राइडिङमार्फत आम्दानी गर्न चाहने व्यक्तिलाई लक्षित गरेको जनाएको छ। कम्पनीका अनुसार मोटरसाइकल लाइसेन्स र बाइक चलाउने अनुभव भएका इच्छुक व्यक्तिले याङ्गोको प्लेटफर्ममा प्रयोगकर्ता खाता बनाएपछि इनोहभसँग सम्पर्क गरी आवश्यक कागजात तथा अनबोर्डिङ प्रक्रिया पूरा गर्न सक्छन्।

सम्झौता र लागू सर्तअनुसार कम्पनीले राइडरलाई बाइक उपलब्ध गराउनेछ। यसका लागि राइडरले बाइक खरिद गर्न अग्रिम रकम लगानी गर्नुपर्ने व्यवस्था नरहेको कम्पनीले जनाएको छ। राइडरले कम्पनीसँगको सम्झौताअनुसार तलब मोडल वा रेन्टल मोडल मध्ये उपयुक्त व्यवस्थामा काम गर्न सक्ने कम्पनीको भनाइ छ।

कम्पनीले केही निश्चित सर्त पूरा गर्ने राइडरलाई खाने तथा बस्ने सुविधा पनि उपलब्ध गराउने जनाएको छ। यद्यपि यसका लागि लागू हुने आर्थिक तथा अन्य सर्त भने कम्पनीले सार्वजनिक गरेको छैन।

दशैंमा राइडरलाई शून्य प्रतिशत पार्टनर शुल्क
इनोहभले आफ्नो पहिलो वार्षिकोत्सव तथा बडादशैंको अवसरमा याङ्गो इनोहभ राइडरका लागि ० प्रतिशत पार्टनर शुल्क घोषणा गरेको छ। कम्पनीका अनुसार उक्त अवधिमा राइडरबाट पार्टनर शुल्क नलिइनेछ। राइडरको कामलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट तथा समर्पित राइडरलाई रेनकोट, पावर बैंक र मोबाइल होल्डरलगायत सामग्रीसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

राइडर लक्षित ‘बाइक एक्सचेन्ज प्रोग्राम’
राइडरलाई लक्षित गर्दै असोजको अन्तिम साता एक साताव्यापी ‘बाइक एक्सचेन्ज प्रोग्राम’ आयोजना गर्ने तयारी पनि गरिएको छ। कार्यक्रममा पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ सवारीसाधन खरिद गर्न सकिने कम्पनीले जनाएको छ। पुराना सवारीसाधनको मूल्याङ्कन, नयाँ सवारीसाधन खरिदमा छुट तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने तयारी गरिएको छ।

याङ्गो राइडरका लागि तीनवटा वित्तीय प्याकेज प्रस्ताव गरिएको कम्पनीले जनाएको छ। पहिलो प्याकेजमा ४० प्रतिशत डाउनपेमेन्ट, ६० महिनाको कर्जा अवधि र ८.९९ प्रतिशत ब्याजदर रहनेछ। दोस्रो प्याकेजमा ५० प्रतिशत डाउनपेमेन्ट, ६० महिनाको कर्जा अवधि र ६.९९ प्रतिशत ब्याजदर तथा तेस्रो प्याकेजमा ५० प्रतिशत डाउनपेमेन्ट, २४ महिनाको कर्जा अवधि र ० प्रतिशत ब्याजदर रहने कम्पनीले जनाएको छ।

तिहारपछि ५०० बाइकको फ्लीट
इनोहभले हाल सञ्चालनमा रहेका २५० भन्दा बढी बाइकलाई विस्तार गरी तिहारपछि ५०० पुर्‍याउने लक्ष्य राखेको छ। कम्पनीका अनुसार फ्लीट विस्तारको उद्देश्य यात्रुलाई थप सहज सेवा उपलब्ध गराउनुका साथै आफ्नै सवारीसाधन नभएका व्यक्तिलाई राइड-हेलिङ क्षेत्रमा प्रवेशको अवसर दिनु हो।

याङ्गोले स्थानीय साझेदारमार्फत विभिन्न बजारमा सेवा विस्तार गर्ने मोडलअनुसार नेपालमा इनोहभसँग सहकार्य गर्दै आएको कम्पनीले जनाएको छ। इनोहभले राइड-हेलिङ सेवाका लागि आवश्यक सवारीसाधन तथा अन्य सुविधा उपलब्ध गराउँदै आएको छ।

इनोहभका अनुसार काठमाडौं उपत्यकामा बाइक वा कारमार्फत राइड-हेलिङमा आबद्ध हुन चाहने व्यक्तिका लागि दर्ता प्रक्रिया निःशुल्क रहेको छ। इच्छुक व्यक्तिले महाराजगञ्जस्थित कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images