बडादशैंको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाइँदै छ। विजयादशमीको मुख्य दिन टीका लगाउन नभ्याएका तथा आफन्तकहाँ जान नपाएकाहरू आज पनि मान्यजन र आफन्तकहाँ पुगेर टीका थापिरहेका छन्।
विजयादशमीका दिन नवदुर्गाको प्रसादका रूपमा मान्यजनबाट रातो टीका र जमरा लगाउने परम्परा छ। टीकालाई शुभ र विजयको प्रतीक तथा जमरालाई समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ।
यस वर्ष बुधबार बडादशैंको मुख्य दिन विजयादशमी परेको थियो। मुख्य दिनदेखि सुरु भएको टीका लगाउने र आशीर्वाद लिने क्रम आज पनि जारी छ। दशैंको टीका एकै दिनमा सीमित नरही कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा रहेकाले आफन्त तथा परिवारका ज्येष्ठ सदस्यकहाँ पुग्ने क्रम जारी रहेको हो।
दशैंमा परिवारका सदस्य, आफन्त र मान्यजनबीच भेटघाट गरी टीका, जमरा र आशीर्वाद आदानप्रदान गरिन्छ। यसले पारिवारिक सम्बन्धलाई बलियो बनाउनुका साथै आपसी सद्भाव र सांस्कृतिक परम्परालाई निरन्तरता दिन सहयोग पुर्याउँछ।
टीका लगाउने र आफन्तसँग भेटघाट गर्ने क्रम जारी रहँदा काठमाडौंमा पनि चहलपहल बढ्न थालेको छ।
प्रतिक्रिया दिनुहोस