मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८, भावना मार्गमा एक दम्पती घरभित्रै मृत र घाइते अवस्थामा फेला परेका छन्। बिहीबार बिहान करिब १ः४५ बजे ४५–४६ वर्षीय शंकर कार्की झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् भने उनकी करिब ४० वर्षीया श्रीमती चरिमाया कार्की घाइते अवस्थामा भेटिएकी छन्।
प्रहरीका अनुसार शंकर घरभित्र झुण्डिएको अवस्थामा र उनकी श्रीमती भान्साकोठामा घाइते अवस्थामा फेला परेकी थिइन्। चरिमायाको मुख, टाउको तथा दुवै खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। थप उपचारका लागि उनलाई चितवन लगिएको प्रहरीले जनाएको छ।
प्राप्त विवरणअनुसार, श्रीमान्–श्रीमतीबीच विवाद भएको र चरिमायाले फोन नउठाएको खबर माइती पक्षबाट आएपछि शंकरकी दिदी भवानी महत भाइको घर पुगेकी थिइन्। हेटौँडा–९, लामसुरे निवासी महतले घरभित्रबाट चुकुल लगाइएको पाएपछि शंका लागेर स्थानीयलाई खबर गरेकी थिइन्।
त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले ढोका फोडेर हेर्दा शंकर झुण्डिएको अवस्थामा र उनकी श्रीमती घाइते अवस्थामा फेला पारेको थियो।
प्रहरीका अनुसार घटनाको समयमा घरमा श्रीमान्–श्रीमती मात्रै रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारणबारे प्रहरीले अन्तिम निष्कर्ष सार्वजनिक गरिसकेको छैन।
प्रतिक्रिया दिनुहोस