२०८३, आश्विन २९ गते

अन्नपूर्णको विपद् कोषमा १ करोडभन्दा बढी रकम सङ्कलन, पुनर्निर्माणमा ६६ लाख खर्च

सोमवार , आश्विन २६, २०८३

अन्नपूर्ण गाउँपालिकाले विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि स्थापना गरेको विपद् व्यवस्थापन कोषमा रु एक करोड चार लाख ८५ हजार ४९८ सहयोग रकम सङ्कलन भएको छ ।

गाउँपालिकाले सहयोगका लागि सार्वजनिक आह्वान गरेपछि पर्यटन व्यवस्थापन समिति, स्थानीय सङ्घसंस्था, व्यवसायी, राजनीतिक दल तथा विभिन्न व्यक्तिबाट उक्त रकम सङ्कलन भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार कोषमा प्राप्त सहयोगबाट विपद्पछिको तत्काल राहत वितरण, सडक मर्मत तथा पुनर्निर्माणका काममा सहयोग पुगेको छ । मनसुनजन्य बाढीपहिरोका कारण सडक, पुल, निजी घर, होटल, धार्मिक तथा पर्यटकीय संरचनामा क्षति पुगेपछि गाउँपालिकाले पुनर्निर्माणका काम अघि बढाएको हो ।

गाउँपालिकाका अनुसार विपद्बाट भएको क्षतिको उद्धार, राहत तथा पुनर्निर्माणका लागि हालसम्म रु ६६ लाख ६५ हजार ५४३ खर्च भएको छ । मोदी र किम्रुङ खोलामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको बिरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण तथा संरक्षणमा बढी खर्च भएको छ ।

सडक पुनर्निर्माणका क्रममा इन्धनमा रु १९ लाख ७९ हजार ६५०, ग्याबिन जाली निर्माणका लागि श्रमिक ठेक्कामा रु ११ लाख ६४ हजार ९०४ तथा ढुङ्गा र ब्याकफिलिङ सामग्री ढुवानीका लागि ट्याक्टर, ब्याकलोडर र टिपर भाडामा रु १८ लाख ६९ हजार १८९ खर्च भएको अध्यक्ष केसीले बताए ।

त्यसैगरी, अन्य उपकरण तथा निर्माणसम्बन्धी काममा रु आठ लाख ४६ हजार ५३५, निर्माण सामग्री खरिदमा रु एक लाख ३० हजार १६८, जिओटेक्सटाइल खरिदमा रु ८२ हजार ४९० र ग्याबिन जाली खरिदमा रु ९९ हजार ७९० खर्च गरिएको छ । उद्धार तथा पुनर्निर्माणमा खटिएका सुरक्षाकर्मी र सहयोगीका लागि खाना, खाजा तथा अन्य व्यवस्थापनमा समेत खर्च गरिएको गाउँपालिकाले जनाएको छ ।

बाढीपहिरोले अन्नपूर्ण आधार शिविर जाने पर्यटकीय मार्गका विभिन्न संरचनामा क्षति पुर्‍याएको थियो । मोदी खोलामा आएको बाढीले वडा नं.८ को बिरेठाँटी बजार क्षेत्रमा करिब १०० मिटर कालोपत्रे सडक बगाएपछि बिरेठाँटी–घान्द्रुक सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो । त्यस्तै, चिम्रुङ–स्याउलीबजार क्षेत्रमा करिब १५० मिटर सडक क्षतिग्रस्त भएको थियो ।

सडक तथा पुलमा भएको क्षतिका कारण गाउँपालिकाका वडा नं. ८, ९, १० र ११ का बासिन्दाको नयाँपुल, पोखरा तथा पर्वतातर्फको आवागमन प्रभावित भएको थियो । स्याउलीबजार–हल्लाली जोड्ने झोलुङ्गे पुल, घुर्जुङ क्षेत्रका पुल तथा माता अन्नपूर्ण मन्दिर क्षेत्रका फलामे पुलसमेत बाढीले क्षति पुर्‍याएको गाउँपालिकाले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले पुनर्निर्माणका लागि दुई हजार ४७५ घनमिटर ग्याबिन जाली उपलब्ध गराएको थियो भने विभिन्न जलविद्युत् आयोजना र नेपाली सेनाले श्रमदान तथा प्राविधिक सहयोग गरेका थिए ।

गाउँपालिका अध्यक्ष केसीका अनुसार सडक र पदमार्ग अवरुद्ध हुनुका साथै पुल तथा तातोपानी कुण्डमा क्षति पुगेपछि आन्तरिक र बाह्य पर्यटकको आवागमन प्रभावित भएको थियो । यसबाट होटल व्यवसायी, गाइड, भरिया तथा स्थानीय व्यापारीको आम्दानीमा समेत असर परेको थियो ।

“अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा अवरोध, पुल क्षति तथा तातोपानी कुण्ड नष्ट हुँदा आन्तरिक र बाह्य पर्यटकको आवागमन प्रभावित भएको थियो । हामीले सबैको सहयोगबाट पदमार्गहरू खुला गरेका छौँ । अहिले पुनः पर्यटक आगमन सुरु भएको छ,” अध्यक्ष केसीले भने ।

मनसुनजन्य विपद्का कारण अन्नपूर्ण गाउँपालिका क्षेत्रमा मानवीय मृत्यु नभए पनि भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताए । उनका अनुसार पूर्वसूचना प्रणाली, स्थानीय सचेतना र सुरक्षा निकायको समयमै परिचालनले मानवीय क्षति हुन नदिन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

बरालले बिरेठाँटी–घान्द्रुक सडकको स्थायी मर्मत, क्षतिग्रस्त पुलको पुनर्निर्माण, प्रभावित परिवारलाई राहत तथा पुनःस्थापना सहयोग र जोखिम नक्साङ्कन आवश्यक रहेको बताए ।

पूर्वसूचना प्रणालीलाई वडा तहसम्म विस्तार गर्न तथा ठूला पुनर्निर्माण आयोजनाका लागि थप बजेट र प्राविधिक सहयोग उपलब्ध गराउन प्रदेश तथा सङ्घीय सरकारसँग आग्रह गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!