भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा उपलब्ध गराउनु राजनीतिक आश्वासन नभई उनीहरूको अधिकार भएको बताएकी छन्।
सोमबार भरतपुर महानगरपालिका–११, गणेशस्थानमा स्थानीयसँग छलफल गर्दै मन्त्री रावलले विगतमा लालपुर्जा वितरणको विषयलाई राजनीतिक लाभका लागि प्रयोग गरिएको उल्लेख गर्दै अब यसलाई राजनीतिको विषय बनाउन नहुने बताइन्।
भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीका समस्या बुझ्न र उनीहरूका गुनासा सुन्न चितवन पुगेकी मन्त्री रावलले लालपुर्जा पाउनु नागरिकको अधिकार भएको स्पष्ट पारिन्।
उनले भनिन्, “लालपुर्जा र राजनीतिलाई सँगै जोड्नु हुँदैन। तपाईंहरूले लालपुर्जा पाउनुपर्छ, त्यो तपाईंहरूको अधिकारको कुरा हो।”
मन्त्री रावलले भूमिहीन तथा सुकुमबासीलाई लालपुर्जा वितरण गर्न बाधक बनेका नीतिगत समस्या सरकारले अध्यादेशमार्फत हटाइसकेको जानकारी दिइन्। अब स्थानीय तह र भूमि समस्या समाधानसम्बन्धी समितिले प्रक्रिया छिटो अघि बढाउनुपर्नेमा उनले जोड दिइन्।
“अब नीतिले तपाईंहरूको हकमा लालपुर्जा दिन रोक्दैन, अब नियतको कुरा हो। स्थानीय तहले प्रक्रिया छिटो अघि बढाउनुपर्छ र भूमि समितिले काम शीघ्र टुङ्ग्याउनुपर्छ,” उनले भनिन्।
लालपुर्जा वितरणमा भएको ढिलाइका कारण भूमिहीन तथा सुकुमबासीले लामो समयदेखि समस्या भोग्नुपरेको उल्लेख गर्दै मन्त्री रावलले उनीहरूलाई छिटोभन्दा छिटो लालपुर्जा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताइन्।
छलफलका क्रममा स्थानीय बासिन्दाले आफ्ना समस्या तथा गुनासा मन्त्रीसमक्ष राखेका थिए। सरकारले समस्या समाधानका लागि पहल थालेको भन्दै उनीहरूले मन्त्री रावलप्रति आभारसमेत व्यक्त गरेका थिए।
लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिन स्थानीय तह र सम्बन्धित समितिको सक्रियता आवश्यक रहेको मन्त्री रावलको भनाइ छ।
प्रतिक्रिया दिनुहोस