भाटभटेनी सुपरमार्केटले सामान ढुवानीमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग विस्तार गर्ने भएको छ । वातावरण प्रदूषण न्यूनीकरण र इन्धन खर्च घटाउने उद्देश्यसहित कम्पनीले बिहीबारदेखि १४ वटा फोटोन ब्रान्डका विद्युतीय मिनीट्रक सञ्चालनमा ल्याएको हो ।
भाटभटेनीका अध्यक्ष तथा सञ्चालक मीनबहादुर गुरुङले नयाँ मिनीट्रकको शुभारम्भ गर्दै कम्पनीका ढुवानी सवारीसाधनलाई क्रमशः विद्युतीयमा रूपान्तरण गर्ने योजना रहेको बताए ।
उनका अनुसार कम्पनीले हाल साना–ठूला गरी १६३ वटा ट्रक सञ्चालन गर्दै आएको छ । नेपाली बजारमा ठूला क्षमताका विद्युतीय ट्रक पर्याप्त उपलब्ध नभएकाले तत्काल साना ट्रकबाट विद्युतीय ढुवानी सुरु गरिएको उनले बताए । भविष्यमा ठूला क्षमताका विद्युतीय ट्रक उपलब्ध भएपछि तिनलाई पनि प्रयोगमा ल्याइने उनको भनाइ छ ।
कम्पनीले विशेषगरी फलफूल, तरकारीलगायतका सामग्री ढुवानी गर्न फोटोनका विद्युतीय मिनीट्रक प्रयोगमा ल्याएको हो । पेट्रोल तथा डिजेलको मूल्य बढ्दै गएको अवस्थामा विद्युतीय सवारीसाधनको प्रयोगले ढुवानी खर्च घटाउनुका साथै परम्परागत इन्धनमाथिको निर्भरता कम गर्ने अपेक्षा गरिएको गुरुङले बताए ।
उनका अनुसार सवारीसाधन छनोट गर्दा गुणस्तर र वातावरणमैत्री प्रविधिलाई प्राथमिकता दिइएको छ । फोटोनका विद्युतीय गाडीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि हो ।
भाटभटेनीले आफ्नै ढुवानी प्रणालीमा मात्रै नभई आपूर्तिकर्तामार्फत हुने ढुवानीमा पनि विद्युतीय सवारीसाधनको प्रयोग बढाउन पहल गर्ने जनाएको छ । कम्पनीसँग हाल १०४ वटा भेन्डर अर्थात् आपूर्तिकर्ता रहेका छन् । उनीहरूलाई समेत विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रोत्साहित गरिने गुरुङले बताए ।
कम्पनीसँग हाल विद्युतीय, पेट्रोल र डिजेलबाट चल्ने गरी कुल १६३ वटा सवारीसाधन सञ्चालनमा छन् । ती सवारीसाधनलाई उपलब्धता र आवश्यकताअनुसार क्रमशः विद्युतीयमा रूपान्तरण गर्ने योजना कम्पनीले अघि सारेको छ ।
व्यावसायिक ढुवानीमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दा इन्धन खर्च र सञ्चालन लागत घटाउन तथा वायु प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । भाटभटेनीको यो कदमले नेपालमा व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्न निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस