सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त अध्यक्ष थापाले बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शपथ गराएका हुन्। शपथपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई बीमा क्षेत्रको विकास र विश्वसनीयता अभिवृद्धिका लागि निडर तथा निर्धक्क भएर काम गर्न निर्देशन दिएका छन्।
नेपाल बीमा प्राधिकरण नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय हो। बीमा व्यवसायलाई व्यवस्थित, नियमित र प्रतिस्पर्धी बनाउने, बीमा कम्पनीहरूको नियमन तथा सुपरिवेक्षण गर्ने र बीमितको हित संरक्षण गर्ने जिम्मेवारी प्राधिकरणको छ।
नयाँ नेतृत्वसँग बीमा क्षेत्रको नियमन, बीमा कम्पनीहरूको वित्तीय अवस्था, बीमितको हित संरक्षण तथा बीमा सेवाको पहुँच र विश्वसनीयता अभिवृद्धिसम्बन्धी अपेक्षा रहनेछ।
प्रतिक्रिया दिनुहोस