चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारको राजस्व संकलनमा सुधार देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार असार २६ गतेसम्म सरकारले १२ खर्ब १८ अर्ब ८९ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ, जुन वार्षिक लक्ष्यको ७९.४९ प्रतिशत हो।
सरकारले चालु आर्थिक वर्षका लागि १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। गत आर्थिक वर्षको सोही अवधिमा भने सरकारले लक्ष्यको ७७.१५ प्रतिशत अर्थात् ११ खर्ब ३५ अर्ब ३० करोड ३१ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो।
कर राजस्वमा सुधार, गैर–कर राजस्व लक्ष्यभन्दा पछाडि
सरकारको मुख्य आम्दानीको स्रोत कर राजस्वतर्फ पनि प्रगति देखिएको छ। चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब रुपैयाँ कर राजस्व उठाउने लक्ष्य रहेकामा असार २६ सम्म ११ खर्ब ८१ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ अर्थात् ७९.८४ प्रतिशत संकलन भएको छ।
त्यसमध्ये प्रत्यक्ष तथा अप्रत्यक्ष करमार्फत १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ लक्ष्य रहेकामा १० खर्ब ६८ अर्ब ३६ करोड २४ लाख रुपैयाँ अर्थात् ८०.६ प्रतिशत कर संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
यद्यपि सेवा शुल्क, जरिवाना तथा अन्य स्रोतबाट उठाइने गैर–कर राजस्व अपेक्षाअनुसार बढ्न सकेको छैन। गैर–कर राजस्वतर्फ १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ लक्ष्य राखिएकोमा हालसम्म १ खर्ब १३ अर्ब २६ करोड ५२ लाख रुपैयाँ अर्थात् ७३.३५ प्रतिशत मात्रै संकलन भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ७७.१७ प्रतिशत प्रगतिभन्दा कमजोर हो।
वैदेशिक अनुदानमा सुधार, लक्ष्य अझै आधाभन्दा कम
वैदेशिक अनुदान प्राप्तिमा भने गत वर्षको तुलनामा सुधार देखिए पनि लक्ष्य पूरा हुन सकेको छैन। चालु आर्थिक वर्षमा ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखिएकोमा असार २६ सम्म २९ अर्ब ८३ करोड ८९ लाख रुपैयाँ अर्थात् ५५.८३ प्रतिशत मात्रै प्राप्त भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा सरकारले लक्ष्यको ४२.१९ प्रतिशत अर्थात् २२ अर्ब ७ करोड ८७ लाख रुपैयाँ मात्रै वैदेशिक अनुदान प्राप्त गरेको थियो।

