विश्व खेलकुद पत्रकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। हरेक वर्ष जुलाई २ मा मनाइने यो दिवसले खेलकुद पत्रकारिताको महत्व, खेलाडीका उपलब्धि जनसमक्ष पुर्याउन पत्रकारले खेलेको भूमिका तथा निष्पक्ष र जिम्मेवार खेल समाचारको अभ्यासलाई सम्मान गर्ने उद्देश्य राख्छ।
यस दिवसको सुरुआत सन् १९९४ देखि गरिएको हो। सन् १९२४ मा बेलायतमा अन्तर्राष्ट्रिय खेलकुद प्रेस संघ (एआईपीएस) स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष जुलाई २ मा विश्वभर यो दिवस मनाइँदै आएको छ।
खेलकुद क्षेत्रमा सक्रिय पत्रकारहरूका लागि यो दिन विशेष महत्वको मानिन्छ। खेल मैदानका रोमाञ्चक क्षणदेखि खेलाडीका संघर्ष, सफलता, चुनौती र अन्तर्राष्ट्रिय प्रतिस्पर्धासम्मका घटनालाई विश्वसामु विश्वसनीय ढंगले प्रस्तुत गर्ने जिम्मेवारी खेल पत्रकारहरूको काँधमा रहने गर्दछ।
खेलकुद पत्रकारिता पत्रकारिताको एक महत्वपूर्ण विधा हो, जसले खेलसँग सम्बन्धित समाचार, विश्लेषण, अन्तर्वार्ता, तथ्य र घटनालाई निष्पक्ष तथा जिम्मेवार रूपमा जनतासम्म पुर्याउने काम गर्छ। पछिल्लो समय डिजिटल प्रविधिको विस्तारसँगै खेल पत्रकारिताको प्रभाव र पहुँच पनि उल्लेखनीय रूपमा बढ्दै गएको छ।
विश्व खेलकुद पत्रकार दिवसको अवसरमा खेल पत्रकारहरूको योगदानको कदर गर्दै निष्पक्ष, तथ्यपरक र व्यावसायिक खेल पत्रकारिताप्रति प्रतिबद्धता व्यक्त गर्ने गरिन्छ।

