वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ९६ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ अर्ब १ करोड रुपैयाँ अर्थात् १४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो पाँच महिनामा कार्यालयले ८४ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा राजस्व संकलन उत्साहजनक देखिएको छ। उनका अनुसार मंसिर महिनाका लागि २१ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा कार्यालयले लक्ष्यको ९८ प्रतिशत अर्थात् २० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ।
ज्ञवालीले चालु आर्थिक वर्षको पाँच महिनामध्ये सबैभन्दा बढी राजस्व मंसिर महिनामै संकलन भएको जानकारी दिए। उनका अनुसार साउन महिनामा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड र असोजमा १९ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। यस्तै कात्तिक महिनामा १७ अर्ब ३३ करोड र मंसिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको छ।
भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई चालु आर्थिक वर्षभरि २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ। कार्यालयले हालसम्मको पाँच महिनामा उल्लेखनीय प्रगति गर्दै वार्षिक लक्ष्यतर्फ सन्तोषजनक रूपमा अघि बढिरहेको जनाएको छ।

