अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (Fed) ले ब्याजदर घटाउने निर्णय गरेको छ। अर्थतन्त्र सुस्त हुने संकेत देखिएसँगै फेडले यो कदम चालेको हो।
फेडले आफ्नो मौद्रिक नीति समायोजन गर्दै ब्याजदर २५ आधार बिन्दु (०.२५ प्रतिशत) ले घटाएको छ। यससँगै अमेरिकामा ब्याजदर अहिले ३.७५ देखि ४ प्रतिशतको दायरामा पुगेको छ। यसअघि सेप्टेम्बरमा पनि फेडले ब्याजदरमा कटौती गरेको थियो।
फेडका अनुसार, पछिल्लो समय रोजगारीको वृद्धि दर सुस्त भएको र बेरोजगारीमा थोरै वृद्धि देखिएको छ, यद्यपि बेरोजगारी दर अझै न्यून स्तरमै रहेको छ। बैंकले मुद्रास्फीति पछिल्ला महिनाहरूमा केही बढेको र अझै पनि उच्च स्तरमा रहेको स्वीकार गरेको छ।
संघीय खुला बजार समितिले (FOMC) जारी गरेको वक्तव्यमा भनिएको छ — “अर्थतन्त्रमा देखिएको जोखिमलाई सम्बोधन गर्दै अधिकतम रोजगारी र मूल्य स्थिरताको सन्तुलन कायम राख्नु हाम्रो प्राथमिकता हो।”
समितिले दीर्घकालीन रूपमा २ प्रतिशत मुद्रास्फीति दर कायम राख्दै अधिकतम रोजगारी सुनिश्चित गर्ने लक्ष्य दोहोर्याएको छ। साथै, आगामी नीतिगत निर्णयहरूका लागि नयाँ आर्थिक तथ्यांक र बजार अवस्थाको नजिकबाट अनुगमन गरिने उल्लेख गरिएको छ।
फेडले यसै क्रममा डिसेम्बर १ बाट धितोपत्र होल्डिङ घटाउने योजना पूरा गर्ने घोषणा गरेको छ।
मौद्रिक नीतिसम्बन्धी निर्णयमा अध्यक्ष जेरोम एच. पावेल, उपाध्यक्ष जोन सी. विलियम्स, तथा गभर्नरहरू माइकल एस. बार, मिशेल डब्ल्यू. बोमन, सुसान एम. कोलिन्स, लिसा डी. कुक, अस्टिन डी. गुल्सबी, फिलिप एन. जेफरसन, अल्बर्टो जी. मुसल्लम, र क्रिस्टोफर जे. वालर सहभागी थिए।

