नबिल बैंक लिमिटेडले मुलुकभरका २७ शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ। केन्द्रीय कार्यालयसहित सीमित शाखामा मात्र उपलब्ध रहँदै आएको यो सेवा अब काठमाडौँ उपत्यकाका १७ तथा उपत्यकाबाहिरका १० शाखामा थपिएको बैंकले जनाएको छ। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंका अनुसार डिजिटल सेवा तथा अन्तर्राष्ट्रिय बैंकिङ पहुँच सुदृढ गर्न सेवा विस्तार गरिएको हो।
नबिल अनलाइन पेमेन्ट सेवामार्फत ग्राहकले भिसा आवेदन शुल्क, विश्वविद्यालय/कलेज आवेदन शुल्क, बीमा, ACCA भुक्तानी तथा शैक्षिक–व्यापारिक सम्मेलनसम्बन्धी शुल्क सहज र सुरक्षित रूपमा अन्तर्राष्ट्रिय रूपमा तिर्न सक्नेछन्। सो सेवा लिन ग्राहकले छुट्टै अन्तर्राष्ट्रिय कार्ड आवश्यक नपर्ने बैंकले जनाएको छ।
उपत्यकाभित्र सेवा उपलब्ध शाखाहरूमा तीनधारा, पुतलीसडक, महाराजगञ्ज, भाटभटेनी, कुलेश्वर, ठमेल, त्रिपुरेश्वर, विजुलीबजार, मैतीदेवी, हलचोक, सातदोबाटो, कौशलटार, बानेश्वर, गुंसिगाल, कोटेश्वर, भैँसेपाटी र जोरपाटी समावेश छन्। उपत्यकाबाहिर इटहरी, वीरगञ्ज, बिर्तामोड, हेटौँडा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, विराटनगर र पोखरास्थित शाखामा पनि सेवा सुरु गरिएको छ।
देशभर २६८ शाखा र ३२१ एटीएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको नबिल बैंकले चार दशकदेखि बैंकिङ क्षेत्रका नवप्रवर्तनमा अग्रणी भूमिका खेलेको दावी गरेको छ।

