२०८३, श्रावण २३ गते

असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा

मंगलवार , श्रावण १२, २०८३

असुरक्षा बढेको भन्दै वीरगञ्जस्थित नारायणी अस्पतालका ६७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि घटनाको उचित छानबिन र दोषीमाथि कारबाही गर्नुको सट्टा आफूहरूमाथि नै दुर्व्यवहार भएको भन्दै चिकित्सकहरूले सामूहिक राजीनामा दिएका हुन्। चिकित्सक डा. उदयनारायण सिंहका अनुसार ६७ जना चिकित्सकले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष सामूहिक राजीनामा बुझाएका छन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र उनीहरूले पनि राजीनामा दिने तयारी गरेको उनले बताए। डा. सिंहका अनुसार चिकित्सकमाथि भएको आक्रमणपछि सेवा सञ्चालनका लागि सहज वातावरण बनाउन प्रहरी तथा प्रशासनसँग वार्ता गर्न पुगेका चिकित्सकमाथि नै दुर्व्यवहार भएको थियो। ‘हामीमाथि भएको आक्रमणलाई समाधान गरेर बिरामीको सेवामा फर्कने वातावरण बनोस् भनेर प्रहरी र प्रशासनसँग वार्तामा गएका थियौँ। तर त्यहाँ हामीलाई दुई–तीन घण्टा थुनेर अपराधीलाई जस्तो अपशब्द बोल्दै दुर्व्यवहार गरियो। त्यसपछि हामीले आफूलाई असुरक्षित महसुस गरेका हौँ,’ उनले भने। चिकित्सकहरूले आफूहरूमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको समेत राजीनामा माग गरेका छन्। चिकित्सकहरूले सामूहिक राजीनामा दिएपछि नारायणी अस्पतालको आकस्मिक सेवासमेत पूर्ण रूपमा प्रभावित भएको छ। चिकित्सकहरूले आफूहरूको सुरक्षा सुनिश्चित गर्दै दोषीमाथि कारबाही नभएसम्म सेवा सञ्चालनको वातावरण नबन्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!