२०८३, भाद्र ५ गते

images

नाडा अटो शोको पूर्वसन्ध्यामा टाटा सिएरा ईभी नेपाल भित्रियो, कति पर्छ मूल्य?

बुधवार , भाद्र ३, २०८३

नाडा अटो शोको पूर्वसन्ध्यामा टाटा सिएरा ईभी नेपाल भित्रियो, ६६५ किमीसम्म रेन्ज र प्रिमियम फिचर

नाडा अटो शोलाई लक्षित गरेर टाटा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी सिएरा ईभी नेपाल भित्राएको छ । आगामी साउन ९ गतेदेखि काठमाडौंमा सुरु हुने नाडा अटो शोलाई लक्षित गरेर टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले सिएरा ईभी नेपाल ल्याएको हो ।

भारतीय बजारमा सार्वजनिक भएको केही समयमै नेपाल प्रवेश गरेको सिएरा ईभीलाई नाडा अटो शोमा प्रमुख आकर्षणका रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ । आकर्षक डिजाइन, लामो ड्राइभिङ रेन्ज, उच्च प्रदर्शन र आधुनिक प्रविधिका कारण यो एसयूभीले नेपाली विद्युतीय सवारी बजारमा राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ ।

छिमेकी देश भारतीय बजारमा गत जुन ३० मा सिएरा ईभी सार्वजनिक भएको थियो । सार्वजनिक भएको दिनदेखि नै बुकिङ खुला गरिएको उक्त ईभी जुलाई १५ बाट ग्राहकहरुलाई डेलिभरी गरिएको थियो ।

भारतीय बजारमा यसको प्रारम्भिक मूल्य १८ लाख ७९ हजार भारतीय रुपैयाँ तोकिएको छ । तर नेपाली बजारमा भने यसको मूल्य कति पर्छ र बिक्री कहिलेदेखि हुन्छ भन्ने सार्वजनिक गरिएको छैन ।

सिएरा ईभी भारतमा प्योर, प्योर एस, एडभेन्चर, एम्पावर र एम्पावर एलगायत सात भेरियन्टमा उपलब्ध छ । यसमा ६३ किलोवाट–आवर र ७५ किलोवाट–आवरका दुई ब्याट्री विकल्प छन् ।कम्पनीका अनुसार ७५ किलोवाट–आवर ब्याट्री भएको संस्करणले एकपटक चार्ज गर्दा ६६५ किलोमिटरसम्म यात्रा गर्न सक्छ ।

फास्ट चार्जिङमार्फत १५ मिनेट चार्ज गर्दा २६३ किलोमिटरसम्मको रेन्ज थप गर्न सकिने टाटाको दाबी छ । ब्याट्रीमा लाइफटाइम वारेन्टीसमेत उपलब्ध गराइएको छ ।

डिजाइनतर्फ सिएरा ईभीले पुरानो सिएराको बक्सी स्वरूपलाई आधुनिक विद्युतीय एसयूभीको डिजाइनसँग जोडेको छ । अगाडि र पछाडिको कनेक्टिङ एलईडी लाइट बार, फराकिलो बडी र १९ इन्चका अलोय ह्विलले यसलाई प्रिमियम उपस्थिति दिएका छन् ।

केबिनमा पनि आराम र प्रविधिलाई प्राथमिकता दिइएको छ। लेदरेट अपहोल्स्ट्री, भेन्टिलेटेड सिट, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, थाई सपोर्ट एक्सटेन्डर, सनरुफ, कनेक्टेड कार प्रविधि, हेड्स–अप डिस्प्ले र वायरलेस मोबाइल चार्जरजस्ता सुविधा यसमा छन्। मनोरञ्जनका लागि १२ स्पिकरयुक्त जेबीएल साउन्ड सिस्टम र डल्बी एटमस प्रविधि पनि दिइएको छ ।

WhatsApp Image 2026-08-19 at 7.19.48 PM.jpeg

सुरक्षाका हिसाबले सिएरा ईभीमा ६ एयरब्याग, ५४० डिग्री भ्यु क्यामेरा, अटोमेटिक पार्किङ असिस्ट, समन मोड र लेभल–२ एडीएएसजस्ता प्रविधि उपलब्ध छन् । विभिन्न अवस्थाका लागि बुस्ट र रिल्याक्स मोडसहित कुल ६ ड्राइभिङ मोड दिइएको छ ।

प्रदर्शनतर्फ यसको फोर ह्विल ड्राइभ संस्करण विशेष रूपमा शक्तिशाली छ । डुअल मोटर भएको यो संस्करणले ५०४ न्युटन–मिटर टर्क उत्पादन गर्ने र ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.८ सेकेन्डमै हासिल गर्ने कम्पनीको दाबी छ । फ्रिक्वेन्सीमा आधारित ड्याम्पिङ सिस्टमसहितको अल्ट्रा ग्लाइड सस्पेन्सनले विभिन्न सडकमा आरामदायी यात्रा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

व्यवहारिक प्रयोगका लागि सिएरा ईभीमा ६२२ लिटरको बुट स्पेस र ५० लिटरभन्दा बढी क्षमताको फ्रन्ट स्टोरेज दिइएको छ । यसले पारिवारिक प्रयोगसँगै लामो दूरीको यात्रालाई समेत लक्षित गरेको देखिन्छ।

WhatsApp Image 2026-08-19 at 7.19.47 PM.jpeg

भारतीय बजारमा सिएरा ईभीले महिन्द्रा एक्सईभी ९ई, बीई ६, एमजी जेडएस ईभी, एमजी विन्डसर ईभी, हुन्डाई क्रेटा इलेक्ट्रिक र भिनफास्ट भीएफ ७ जस्ता मोडलसँग प्रतिस्पर्धा गरिरहेको छ । नेपालमा यसको प्रवेशसँगै प्रिमियम विद्युतीय एसयूभीको बजारमा प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ ।

अब नाडा अटो शोमा नेपाली ग्राहकले सिएरा ईभीलाई प्रत्यक्ष रूपमा हेर्न पाउनेछन् । यद्यपि यसको वास्तविक बजार सम्भावना भने नेपालमा कुन भेरियन्ट ल्याइन्छ र मूल्य कति निर्धारण गरिन्छ भन्ने कुरामा निर्भर हुनेछ। लामो रेन्ज, प्रिमियम डिजाइन, उच्च प्रदर्शन र अत्याधुनिक फिचरका कारण सिएरा ईभी नाडा अटो शोको चर्चित मोडल बन्ने सम्भावना भने बलियो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!