२०८३, कार्तिक २५ गते

विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय मञ्च आईक्यापको सदस्यमा निर्वाचित

बिहिवार , कार्तिक १९, २०८३

नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित भएका छन्।

दक्षिण कोरियाको सोलमा जारी आईक्यापको १३औँ महासभाले चौधरीलाई स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित गरेको हो।एसियाका विभिन्न मुलुकका राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू सहभागी महासभाबाट चौधरी निर्वाचित हुनुले क्षेत्रीय राजनीतिक संवाद तथा सहकार्यमा नेपालको सहभागिता थप सशक्त हुने अपेक्षा गरिएको छ।

आईक्याप एसियाका विभिन्न राजनीतिक विचारधारा र पृष्ठभूमिका राजनीतिक दलहरूबीच संवाद, सहकार्य तथा आपसी समझदारी प्रवर्द्धन गर्ने क्षेत्रीय मञ्च हो। यसको स्ट्यान्डिङ कमिटीले संस्थाका गतिविधि सञ्चालन, नीति तथा कार्यक्रमको समन्वय र भावी कार्यदिशा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

स्ट्यान्डिङ कमिटीमा भारतका पूर्वविदेशमन्त्री सलमान खुर्सिद, मलेसियाका व्यापार तथा जीवनयापन लागतसम्बन्धी उपमन्त्री डा. फुजिया सल्लेह, श्रीलंकाका यातायात, राजमार्ग तथा सहरी विकासमन्त्री एवं संसद्का नेता बिमल रत्नायके र जापानको कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टीकी अन्तर्राष्ट्रिय विभाग निर्देशक तथा हाउस अफ काउन्सिलर्सकी सदस्य माइको ताजिमालगायत विभिन्न देशका वरिष्ठ राजनीतिक व्यक्तित्वहरू रहेका छन्।

व्यवसाय, उद्यमशीलता तथा सामाजिक क्षेत्रमा लामो अनुभव हासिल गरेका चौधरीले स्ट्यान्डिङ कमिटी सदस्यका रूपमा लोकतान्त्रिक शासन व्यवस्था, आर्थिक विकास, उद्यमशीलता, युवा आकांक्षा तथा एसियाली राजनीतिक दलहरूबीचको सहकार्यका विषयमा हुने क्षेत्रीय छलफलमा योगदान पुर्‍याउने अवसर पाएका छन्।

चौधरीको निर्वाचनले नेपालको आर्थिक रूपान्तरण, समावेशी विकास र अन्तर्राष्ट्रिय सहकार्यका मुद्दालाई एसियाली राजनीतिक मञ्चमा उठाउने अवसरसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images