प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपाल संवत्लाई नेपालको मौलिक समयचक्र र राष्ट्रिय पहिचानका रूपमा व्याख्या गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त बनाएर सुरु गरेको नेपाल संवत्ले नेपालको मौलिक इतिहास, संस्कृति र पहिचानलाई प्रतिबिम्बित गर्ने उनले उल्लेख गरेका छन्।
नेवार समुदायले विशेष महत्त्वका साथ मनाउने म्हः पूजाले आत्मशुद्धि र चेतनाको बोध गराउनुका साथै आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षणमा योगदान पुर्याउने प्रधानमन्त्री शाहको भनाइ छ। यस्ता सांस्कृतिक परम्पराले जातीय एकता र सामाजिक सद्भावलाई थप बलियो बनाउने उनले विश्वास व्यक्त गरेका छन्।
त्यस्तै, प्रधानमन्त्री शाहले गोवर्धन पूजा तथा हली तिहारको सांस्कृतिक र धार्मिक महत्त्व पनि स्मरण गरेका छन्। कृषि कर्मका सहयात्री गोरु तथा कृषि औजारको पूजा गर्ने परम्पराले नेपालको कृषि संस्कृति र श्रमप्रतिको सम्मानलाई उजागर गर्ने उनले बताएका छन्।
देउसी–भैलोले छरछिमेकमा आत्मीयता, भाइचारा र सद्भाव बढाउने उल्लेख गर्दै प्रधानमन्त्री शाहले मौलिक चाडपर्वले आपसी रिसराग बिर्सेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले नेपाल संवत् ११४७, म्हः पूजा, गोवर्धन पूजा तथा हली तिहारको अवसरमा सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस