तिहारमा देउसी–भैलो कार्यक्रम २४ घण्टा सञ्चालन गर्न पाइने भएको छ । गृह मन्त्रालयले निर्धारित सर्त पालना गरेर देउसी–भैलो खेल्न दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले कात्तिक २३ गते जारी गरेको परिपत्रमा तिहार नेपालीहरूको मौलिक सांस्कृतिक, धार्मिक तथा परम्परागत पर्व भएकाले देउसी–भैलो कार्यक्रम अनुशासित रूपमा चौबीसै घण्टा सञ्चालन गर्न दिन भनिएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालयहरूलाई पठाइएको परिपत्रमा यसअघि असोज २४ गते जारी गरिएको सूचनाको समेत पूर्ण पालना गराउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ । चाडपर्वका क्रममा शान्ति सुरक्षा, सामाजिक सद्भाव र सार्वजनिक मर्यादा कायम राख्न मन्त्रालयले सातबुँदे सर्त अघि सारेको छ ।
ती सर्तअनुसार देउसी–भैलो कार्यक्रम स्वेच्छिक र मर्यादित हुनुपर्नेछ । कार्यक्रममा सहभागी हुने वा नहुने निर्णय व्यक्तिको इच्छामा निर्भर रहनेछ। कसैलाई पनि चन्दा वा दक्षिणा दिन दबाब दिन अथवा बाध्य पार्न पाइने छैन । त्यस्तै, जातजाति, धर्म, भाषा, लिंग वा समुदायप्रति घृणा र द्वेष फैलाउने खालका गीत, संगीत, नृत्य तथा नारा प्रयोग गर्न रोक लगाइएको छ । अश्लील प्रस्तुति गर्नसमेत पाइने छैन ।
तिहारका नाममा जुवा तथा तास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने र मादक पदार्थ वा लागूपदार्थ सेवन गरेर सवारीसाधन चलाउन मन्त्रालयले निषेध गरेको छ । देउसी–भैलोमा प्रयोग हुने साउन्ड सिस्टम तथा अन्य ध्वनि उपकरणको आवाज अत्यधिक ठूलो बनाउन पनि पाइने छैन । अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा ध्वनि प्रदूषण नगरी शान्त वातावरण कायम राख्न मन्त्रालयले आग्रह गरेको छ ।
कार्यक्रम सञ्चालन गर्दा सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा, वातावरणीय स्वच्छता र फोहोरमैला व्यवस्थापनमा ध्यान दिनुपर्नेछ । देउसी–भैलो खेल्ने क्रममा जथाभावी फोहोर गर्न नपाइने व्यवस्था पनि गरिएको छ । चाडपर्व मनाउने क्रममा शंकास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा अन्य समस्या उत्पन्न भएमा तत्काल प्रहरी नियन्त्रण कक्षको १०० वा आपत्कालीन कार्य सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
शाखा अधिकृत आनन्द देश न्यौपानेले हस्ताक्षर गरेको परिपत्रमा सबै जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सुरक्षा समन्वय र व्यवस्थापन मिलाउन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस