युवराज सामराको शतक र कुशल भुर्तेलको अर्धशतकप्रेरित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससामु २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनायो । यो जारी प्रतियोगिताको अहिलेसम्मकै उच्च योगफल हो ।
एनपीएल इतिहासमा भने यो दोस्रो ठूलो स्कोर हो । गत संस्करणमा विराटनगर किंग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो । पोखराका ओपनर युवराज सामराले ४८ बलमा १० चौका र ६ छक्कासहित १०२ रन बनाए । उनले ४५ बलमै शतक पूरा गर्दै यस संस्करणको पहिलो शतक आफ्नो नाममा लेखाए ।
कुशल भुर्तेलले पनि ३९ बलमा ७ छक्कासहित ६२ रनको योगदान दिए । खेलको १०औँ ओभरमा नन्दन यादवले आफ्नै बलिङमा भुर्तेलको क्याच छाडेपछि उनले जीवनदान पाएका थिए । पोखराका कप्तान चमिका करुणारत्नेले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै अविजित ३५ रन जोडे । उनले ११ बलमा समान तीन छक्का र चौका प्रहार गरे ।
कर्णालीका लागि कप्तान सोमपाल कामीले दुई विकेट लिए भने मार्क वाटले एक विकेट हात पारे ।
प्रतिक्रिया दिनुहोस