२०८३, आश्विन २९ गते

स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु : अटोमोबाइललाई ‘व्यापार’ होइन, अर्थतन्त्रको आधार मान्न माग

उपराष्ट्रपतिको जोड- स्थिर र लगानीमैत्री नीति आवश्यक, निजी क्षेत्र भन्छ- व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा

मंगलवार , भाद्र ९, २०८३

नेपालको अटोमोबाइल क्षेत्रको पाँच दशक लामो यात्रालाई प्रतिनिधित्व गर्ने स्वर्णजयन्ती विशेष १८औँ नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका हुन्।

उद्घाटन कार्यक्रममा उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको महत्वपूर्ण आर्थिक क्षेत्रका रूपमा उल्लेख गर्दै उद्योग विकास, लगानीको सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्नुपर्ने बताए।

phoot-6.jpeg

उनले सरकार र निजी क्षेत्रबीच निरन्तर संवादमार्फत स्थिर, पारदर्शी र लगानीमैत्री नीति निर्माण गर्नुपर्नेमा जोड दिए। उपराष्ट्रपति यादवले नाडाको ५० वर्षे यात्रालाई नेपालको अटोमोबाइल क्षेत्रको विकाससँग जोडिएको पाँच दशक लामो यात्राका रूपमा व्याख्या गर्दै अब नेपाललाई अटोमोबाइलसम्बन्धी प्रविधि, सेवा, सीप र उत्पादनको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए।

विश्वको अटोमोबाइल उद्योग विद्युतीय सवारी, स्वचालित सवारी, स्मार्ट यातायात र डिजिटल प्रविधितर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले नेपाली व्यवसायीले यस परिवर्तनलाई चुनौतीका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने धारणा राखे।

‘व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जनकुमार श्रेष्ठले चुनौतीपूर्ण आर्थिक अवस्थाका कारण उद्योग तथा व्यवसाय क्षेत्र दबाबमा रहेको बताए।

बजारमा माग अपेक्षाअनुसार बढ्न नसकेको र निजी क्षेत्रको मनोबल कमजोर बन्दै गएको उनको भनाइ थियो। 'मेरो ३६ वर्षको व्यावसायिक यात्रामा उद्योगी–व्यवसायीहरूको यस्तो कमजोर मनस्थिति कहिल्यै देखेको थिइनँ,' उनले भने।

श्रेष्ठले अर्थतन्त्रको पुनःसंरचना आवश्यक रहेको उल्लेख गर्दै स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनालाई प्राथमिकता दिनुपर्ने बताए। आगामी दशकपछि नेपालले अहिलेको जस्तो जनसांख्यिक लाभ प्राप्त गर्न नसक्ने भएकाले उपलब्ध श्रमशक्तिलाई देशभित्रै रोजगारीमा जोड्ने वातावरण अहिले नै बनाउनुपर्ने उनको भनाइ थियो। उनले अटोमोबाइल क्षेत्रमा स्पेयर पार्ट्स उत्पादनको सम्भावना औँल्याउँदै सवारीका आवश्यक सामग्री नेपालमै उत्पादन गर्न निजी क्षेत्र र सरकारले सहकार्य गर्नुपर्ने बताए।

अटोमोबाइल क्षेत्रबाट १० लाखभन्दा बढी रोजगारी

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधनको व्यापारका रूपमा हेर्न नहुने बताए। उनका अनुसार यो क्षेत्र उद्योग, व्यापार, बैंकिङ, बीमा, रोजगारी र सरकारी राजस्वसँग प्रत्यक्ष रूपमा जोडिएको छ।

photo-1 (1).jpeg

नाडाको तथ्यांकअनुसार अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० लाखभन्दा बढी रोजगारी सिर्जना भएको छ भने राज्यको राजस्वमा वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी योगदान पुग्दै आएको छ। उप्रेतीले अटोमोबाइल क्षेत्रमा ठूलो र दीर्घकालीन लगानी हुने भएकाले नीतिगत स्थिरता अत्यावश्यक रहेको बताए। करका दर तथा नीतिमा पटक–पटक हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन हुने भन्दै उनले स्थिर र पूर्वानुमानयोग्य कर नीति बनाउन सरकारसँग आग्रह गरे।

'सवारीसाधनलाई अझै पनि विलासी वस्तुका रूपमा मात्र हेर्ने दृष्टिकोणमा पुनर्विचार गर्न आवश्यक छ,' उनले भने, 'बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार कर नीति थप व्यावहारिक र उपभोक्तामैत्री हुनुपर्छ।'

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको माग

उप्रेतीले काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याए।

उपत्यकाको जनसंख्या र आर्थिक गतिविधि बढ्दै गए पनि प्रदर्शनीसम्बन्धी पूर्वाधार त्यसअनुसार विस्तार हुन नसकेको उनको भनाइ थियो। भृकुटीमण्डपको विद्यमान संरचना पर्याप्त नहुँदा ट्रक, बस तथा भारी उपकरणलगायत सामग्रीलाई पर्याप्त रूपमा प्रदर्शन गर्न कठिन भइरहेको उनले बताए।

photo-3 (1).jpeg

आर्थिक वर्ष २०८२/८३ को बजेटमा भृकुटीमण्डप प्रदर्शनीस्थल स्तरोन्नतिको योजना समावेश भएको उल्लेख गर्दै उनले उक्त योजना शीघ्र कार्यान्वयन गरी यसलाई अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रका रूपमा विकास गर्न आग्रह गरे।

विद्युतीय सवारीबाट नयाँ अवसर

नाडाले विद्युतीय सवारीको बढ्दो प्रयोगलाई नेपालको अर्थतन्त्रका लागि नयाँ अवसरका रूपमा लिनुपर्नेमा जोड दिएको छ। नेपालको स्वच्छ ऊर्जा, विद्युतीय सवारीको विस्तार, चार्जिङ पूर्वाधार, सवारी एसेम्बली तथा अटोमोबाइलका कम्पोनेन्ट उत्पादनमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष उप्रेतीले सरकार, निजी क्षेत्र र प्रविधि क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।

स्वर्णजयन्ती विशेष नाडा अटो शोले नेपालको अटोमोबाइल क्षेत्रको विगतलाई मात्र सम्झिएको छैन, भविष्यको दिशा पनि देखाउन खोजेको छ। तर सवारी बिक्री र आयातमा सीमित रहेको यो क्षेत्रलाई उत्पादन, प्रविधि, सीप र रोजगारीसँग जोड्ने नीतिगत आधार बन्न सके मात्रै पाँच दशकको यात्राले आगामी दशकमा नयाँ आर्थिक गति लिन सक्छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!