२०८३, आश्विन ५ गते

ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल फाइनलमा

बिहिवार , भाद्र २५, २०८३

नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानमाथि शानदार जित निकालेको छ। स्पिन बलर चम्किएपछि नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान नेपाली स्पिनरमाझ टिक्न नसक्दा २८.१ ओभरमा ६० रनमै अलआउट भयो। ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ तथा जितेन रामानन्दीले १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३–३ विकेट लिए। रोहित पौडेल र ललित राजवंशीले २–२ विकेट लिएपछि ओमानको ब्याटिङ लाइनअप धराशायी बनेको थियो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रन जोडे।

नेपाल २३ रनमा पहिलो विकेट गुमाएपछि ३६–४ को कठिन अवस्थामा पुगेको थियो। त्यसपछि दीपेन्द्र र बसिरले पाँचौँ विकेटका लागि ९३ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओमानका लागि जय ओडेडराले १० ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। हस्नैन शाहले ८.४ ओभरमा २८ रन दिएर ३ विकेट लिए भने मुहम्मद इमरानले २ तथा शकील अहमद र मुजिबुर अलीले १–१ विकेट लिए। सेमिफाइनल जितसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल शनिबार हुनेछ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!