२०८३, आश्विन ५ गते

विपद्पछिको पुनर्निर्माणमा बाँसको सम्भावना, आरसीसीभन्दा ९४ प्रतिशतसम्म कम कार्बन उत्सर्जन

विपद्पछिको पुनर्निर्माणमा बाँस: सस्तो, दिगो र वातावरणमैत्री विकल्प

आइतवार , आश्विन ४, २०८३

विपद्पछिको पुनर्निर्माणलाई छिटो, दिगो र वातावरणमैत्री बनाउन बाँसका संरचनाको प्रयोग गर्न सकिनेमा विज्ञहरूले जोड दिएका छन्। विश्व बाँस दिवस २०२६ को अवसरमा आयोजित ‘पोटेन्सियल अफ बाँम्बु फर पोस्ट डिजास्टर कन्स्ट्रक्सन’ विषयक सेमिनारमा सहभागी विज्ञहरूले बाँसलाई पुनर्निर्माणसँगै उद्योग र रोजगारीको माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका हुन्।

सेन्टर फर अर्बन प्लानिङ स्टडिज, इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), त्रिभुवन विश्वविद्यालय, ग्रीन बाँस क्रिएसन प्रालि र कान्तिपुर इन्टरनेसनल इन्जिनियरिङ कलेजको संयुक्त आयोजनामा सेमिनार भएको हो। कार्यक्रममा अध्ययन–अनुसन्धान, निजी क्षेत्र र नीतिनिर्माण क्षेत्रबीचको सहकार्यबाट बाँसको व्यावसायिक तथा संरचनागत प्रयोग विस्तार गर्न सकिनेमा जोड दिइयो।

कार्यक्रम सेन्टर फर अर्बन प्लानिङ स्टडिजकी प्राध्यापक डा. संगीता सिंहको अध्यक्षतामा भएको थियो। नेपाल सरकारका पूर्वमन्त्री इन्जिनियर गणेश शाह प्रमुख अतिथि तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का पूर्वउपकुलपति प्राध्यापक डा. जीवराज पोखरेल विशेष अतिथि थिए।

विपद्पछिको पुनर्निर्माणमा बाँस उपयोगी

कार्यक्रमका प्रमुख वक्ता प्राडा. जीवराज पोखरेलले बाँसको बहुआयामिक उपयोगबारे प्रस्तुति दिँदै घर तथा टहरा, फर्निचरदेखि विभिन्न संरचनामा यसको प्रयोग गर्न सकिने बताए। उनले बाँसबाट ‘स्नेक टावर’, प्लान्ट रेट्रोफिटिङ तथा बायोग्यास प्लान्ट निर्माणको सम्भावनासमेत रहेको उल्लेख गरे।

इन्जिनियरिङ अध्ययन संस्थानका एसोसिएट प्राध्यापक डा. क्षितिज चरण श्रेष्ठले बाँसका संरचनात्मक पक्षमा केन्द्रित हुँदै विभिन्न डिजाइनका बाँस संरचना र तिनको टिकाउपनबारे जानकारी दिए।

ह्याबिटाट फर ह्युमानिटी नेपालका कार्यक्रम निर्देशक लक्षिन्द्र महर्जनले बाँसबाट निर्माण हुने संरचनाले आरसीसी संरचनाको तुलनामा ८६ देखि ९४ प्रतिशतसम्म कम कार्बन उत्सर्जन गर्ने दाबी गरे। प्राकृतिक विपद्पछि छोटो समयमै संरचना निर्माण गर्न सकिने भएकाले बाँसका संरचना सुरक्षित, दिगो र तुलनात्मक रूपमा किफायती हुने उनको भनाइ थियो।

रसुवा–भोटेकोशी पुनर्निर्माणमा बाँसको विकल्प

सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर टंक गौतमले बाँस संरचना डिजाइन मार्गदर्शन, २०८२ लागू भइसकेको जानकारी दिँदै रसुवा–भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा काठ तथा बाँसका संरचनालाई समेत विकल्पका रूपमा अघि बढाउन सकिने बताए।

उनका अनुसार बाढीबाट भएको क्षतिको प्रारम्भिक आकलनमा करिब ८७.६ प्रतिशत घर पूर्ण रूपमा क्षतिग्रस्त भएको देखिएको छ। यस्तो अवस्थामा छिटो निर्माण गर्न सकिने र स्थानीय स्रोतमा आधारित बाँसका संरचनाले पुनर्निर्माणमा योगदान पुर्‍याउन सक्ने उनले बताए।

मदन भण्डारी विश्वविद्यालय अफ साइन्स एन्ड टेक्नोलोजीका पीएचडी स्कलर मुकेश महर्जनले विश्वविद्यालयमा भइरहेको बाँससम्बन्धी अध्ययन तथा अनुसन्धान र विश्वव्यापी रूपमा बाँसको बढ्दो सम्भावनाबारे जानकारी दिए।

२० वर्षको अनुभवबाट बाँसको व्यावसायिक सम्भावना

ग्रीन बाँस क्रिएसन प्रालिका सञ्चालक कृष्णप्रसाद अर्यालले बाँस क्षेत्रमा दुई दशकभन्दा लामो समय काम गर्दाको अनुभव प्रस्तुत गर्दै बाँसबाट घर, टहरा, फर्निचर, सजावट तथा हस्तकलाका सामग्री उत्पादन भइरहेको जानकारी दिए।

बाँसबाट अस्थायी तथा परम्परागत संरचना मात्र नभई दिगो र आधुनिक घरसमेत निर्माण गर्न सकिने उनको भनाइ थियो। उनले बाँस क्षेत्रमा काम गर्दा निजी क्षेत्रले भोग्दै आएका समस्या र चुनौतीबारे पनि जानकारी गराए। ग्रीन फाउन्डेसन नेपालका कार्यक्रम अधिकृत अरविन पौडेलले दाङको ‘बाँस गाउँ पहल’बारे प्रस्तुति दिएका थिए।

राष्ट्रिय बाँस संघ नेपाल घोषणा

कार्यक्रममा नेपाल सरकारका पूर्वमन्त्री इन्जिनियर गणेश शाहले अध्ययन–अनुसन्धान क्षेत्र, निजी क्षेत्र र नीतिनिर्माण क्षेत्रको त्रिकोणात्मक सहकार्यबाट मात्रै बाँस तथा अन्य प्राकृतिक स्रोतमा आधारित उद्योगको विकास गर्न सकिने बताए।

विश्व बाँस दिवसको अवसरमा प्रणव प्रधानको संयोजकत्वमा राष्ट्रिय बाँस संघ नेपाल घोषणा गरिएको छ। ग्रीन बाँस क्रिएसनका प्रबन्ध निर्देशक प्रधानले बाँस क्षेत्रका सबै सरोकारवालालाई समेटेर निष्पक्ष र तटस्थ रूपमा अघि बढ्ने बताए। उनले बाँस क्षेत्रका समस्या समाधान तथा यसको विकास र विस्तारका लागि आफ्नो क्षमताले भ्याएसम्म योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमकी सभाध्यक्ष प्राडा. संगीता सिंहले बाँस क्षेत्रको विकासका लागि उत्पादन र प्रविधिसँगै बाँस खेतीलाई समेत प्राथमिकता दिनुपर्ने बताइन्। उनले बाँसलाई कृषि, उद्योग, निर्माण र वातावरण संरक्षणसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिइन्। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!