भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीहरूले १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुखदेखि सहयोगी कर्मचारीसम्मले आफ्नो तलब–भत्ताबाट रकम जुटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन्।
बैंकका सञ्चालक समिति अध्यक्ष टंकप्रसाद पाण्डे र निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईं, मार्केटिङ एन्ड सेल्स विभाग प्रमुख बीना शर्मा तथा जनशक्ति व्यवस्थापन विभाग प्रमुख अजय रिमालको पनि उपस्थिति थियो।
संस्थागत रूपमा थप ३ करोड सहयोग
कृषि विकास बैंकले यसअघि नै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ योगदान गरिसकेको जनाएको छ। त्यसैगरी, बैंकले बाढी प्रभावितका लागि १० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा राहत सामग्री प्रत्यक्ष रूपमा वितरण गरिसकेको छ।
बैंकका अनुसार प्राकृतिक विपद्को कठिन अवस्थामा प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संस्थागत तथा कर्मचारीस्तरबाट सहयोगलाई निरन्तरता दिइएको हो।
प्रतिक्रिया दिनुहोस