भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ११ वटा वाणिज्य बैंकमा करिब ७३ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। अर्थ समितिअन्तर्गतको बाढीपछि अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिले सार्वजनिक गरेको प्रतिवेदन, २०८३ मा उक्त तथ्य उल्लेख गरिएको हो।
प्रतिवेदनअनुसार बाढीले ११ वाणिज्य बैंकका १४ वटा शाखामा क्षति पुर्याएको छ। तीमध्ये केही शाखा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने अधिकांश शाखा पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।
बाढीबाट प्रभावित बैंकहरूको १७ अर्ब २४ करोड रुपैयाँ बराबरको नगद क्षति भएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, नगदबाहेक करिब ५५ अर्ब ६८ करोड रुपैयाँ बराबरको सम्पत्तिमा क्षति पुगेको छ। नगद र अन्य सम्पत्तिको क्षति जोड्दा बैंकिङ क्षेत्रमा कुल क्षति करिब ७३ अर्ब रुपैयाँ पुगेको देखिन्छ।
बाढीपछि बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारी सम्पर्कविहीन रहेको प्रतिवेदनले जनाएको छ। बाढीका कारण बैंकका शाखा, नगद, भौतिक संरचना तथा अन्य सम्पत्तिमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा बैंकिङ सेवा समेत प्रभावित भएको छ।
प्रतिक्रिया दिनुहोस