२०८३, आश्विन ५ गते

नाफा ६३% बढाएपछि सिटिजन्स बैंकको कर्णालीमा नयाँ रणनीति

शनिवार , आश्विन ३, २०८३

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशमा गत आर्थिक वर्षको कार्यसम्पादन समीक्षा तथा चालु आर्थिक वर्षको रणनीतिक योजना र प्राथमिकताबारे छलफल गरेको छ।

बैंकले शुक्रबार कर्णाली प्रदेशका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा ‘ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्स : परफर्मेन्स एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यू–कर्णाली प्रोभिन्स २०८३/८४’ विषयक सेमिनार आयोजना गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा भएको कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकतामाथि छलफल गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय र प्रदेश तहबीचको समन्वय तथा सहकार्य थप प्रभावकारी बनाउने विषयमा समेत अन्तरक्रिया भएको थियो।

सिटिजन्स बैंकले कर्णाली प्रदेशका आठ जिल्लामा ११ वटा शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ। बैंकले यसअघि बागमती, कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा पनि प्रदेशस्तरीय कार्यसम्पादन तथा रणनीतिक समीक्षा कार्यक्रम आयोजना गरिसकेको जनाएको छ।

बैंकका अनुसार अन्य प्रदेशमा पनि यस्ता कार्यक्रम क्रमशः आयोजना गरिनेछन्।

सिटिजन्स बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकको कर्जा प्रवाह १.२४ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा निक्षेप संकलन ९.२२ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। बैंकको खुद नाफा भने ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको जनाएको छ।

बैंकले पछिल्लो समय डिजिटल तथा लक्षित ग्राहक समूहलाई केन्द्रित गर्दै विभिन्न बैंकिङ सेवा विस्तार गरेको जनाएको छ। बैंकले फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। त्यस्तै, युवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ र फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको जनाएको छ।

बैंकका अनुसार मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन तथा सीआरएन नम्बर लिन सकिने सुविधा पनि उपलब्ध छ। अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने ‘क्रस बैंक टेलर’ सुविधा पनि सञ्चालनमा ल्याइएको छ।

सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा २०० वटा शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ। बैंकका अनुसार यी सञ्जालमार्फत २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई विभिन्न बैंकिङ सेवा उपलब्ध गराइँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!