भृकुटीमण्डपमा जारी नवौँ नेपाल जग्गा तथा आवास निर्माण प्रदर्शनीमा घर तथा जग्गा खरिद गर्न चाहने ग्राहकको चासो बढेकाे छ। बैंक तथा वित्तीय संस्थाको कर्जातर्फ पनि ग्राहकको चासो देखिएको छ। ग्राहकहरूले घर किन्नुअघि बैंकबाट कति ऋण पाइन्छ, ब्याजदर कति छ र कर्जा तिर्ने अवधि कति हुन्छ भन्नेबारे जानकारी लिइरहेका छन्।
असोज १ देखि ४ गतेसम्म सञ्चालन भइरहेको प्रदर्शनीमा ५ वटा वाणिज्य बैंक, ३ वटा विकास बैंक र एक वित्त कम्पनी गरी ९ वटा बैंक तथा वित्तीय संस्था सहभागी छन्। उनीहरूले घर तथा जग्गा खरिदका लागि विभिन्न होम लोन (Home Loan) तथा प्रोपर्टी लोन (Property Loan) योजना प्रदर्शनीमा प्रस्तुत गरेका छन्।
मेलामा प्रभु बैंकले ५.४४ प्रतिशतबाट सुरु हुने होम लोन योजना ल्याएको छ। सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंकले प्रदर्शनी लक्षित ५.९९ प्रतिशत स्थिर ब्याजदरका होम लोन योजना अघि सारेका छन्। त्यस्तै, लक्ष्मी सनराइज बैंकले ५.४९ प्रतिशत ब्याजदरको होम लोन योजना ल्याएको छ।
महालक्ष्मी विकास बैंकले भने घर तथा जग्गा खरिद र घर निर्माणका लागि कर्जा परामर्श तथा सहजीकरण गरिरहेको छ। बैंकले नियमित होम तथा प्रोपर्टी लोनसँगै वातावरणमैत्री घर निर्माणलाई लक्षित गर्दै ६.४९ प्रतिशत स्थिर ब्याजदरको ग्रीन होम लोन (Green Home Loan) योजना पनि ल्याएको छ।
बैंकले कति ऋण दिन्छ ?
घर किन्न खोज्ने ग्राहकका लागि बैंकले कति ऋण दिन्छ भन्ने कुरा सबैमा समान हुँदैन। कर्जाको वास्तविक रकम सम्पत्तिको मूल्यांकन, ग्राहकको आम्दानी, ऋण तिर्न सक्ने क्षमता, क्रेडिट हिस्ट्री (Credit History) तथा सम्बन्धित बैंकको कर्जा नीतिका आधारमा निर्धारण हुन्छ।
हालको व्यवस्थाअनुसार पहिलोपटक घर खरिद गर्ने योग्य ग्राहकले मूल्यांकन गरिएको सम्पत्तिको ८० प्रतिशतसम्म कर्जा पाउन सक्ने व्यवस्था छ। बाँकी रकम भने ग्राहकले आफ्नै स्रोतबाट व्यवस्थापन गर्नुपर्ने हुन्छ।
ब्याजदर मात्रै हेरेर कर्जा छनोट नगर्न सुझाव
प्रदर्शनीमा १०० भन्दा बढी स्टल छन्। घर तथा अपार्टमेन्ट, जग्गा विकास आयोजना, निर्माण सामग्रीका साथै बैंक तथा वित्तीय संस्थाका कर्जा र अन्य सेवाबारे जानकारी लिन सकिने आयोजकले जनाएको छ।
घर खरिदका लागि कर्जा लिँदा ग्राहकले ब्याजदर मात्रै तुलना गरेर निर्णय गर्नु उचित हुँदैन। कर्जाको अवधि, स्थिर ब्याजदर लागू हुने समय, त्यसपछि लाग्ने ब्याजदर, सेवा शुल्क, धितो मूल्यांकन शुल्क तथा पूर्वभुक्तानी शुल्कसमेत हेरेर कर्जा छनोट गर्नुपर्ने हुन्छ।
यसरी हेर्दा प्रदर्शनी घर तथा जग्गा खरिदका लागि सम्पत्ति छनोट गर्ने ठाउँ मात्र नभई सम्भावित खरिदकर्ताले आफ्नो आम्दानी र क्षमताअनुसार कर्जाको लागत तथा विभिन्न बैंकका योजनाबीच तुलना गर्ने अवसरसमेत बनेको छ।
प्रतिक्रिया दिनुहोस