२०८३, आश्विन ५ गते

सिटिजन्स बैंकद्वारा सेती प्रादेशिक अस्पतालको डायलासिस युनिटलाई आरओ प्रणाली सहयोग

आइतवार , आश्विन ४, २०८३

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका–१ स्थित सेती प्रादेशिक अस्पतालको डायलासिस युनिटलाई ‘रिभर्स ओस्मोसिस’ (आरओ) प्रणाली उपलब्ध गराएको छ।

सुदूरपश्चिम प्रदेशका मिर्गौलासम्बन्धी रोगबाट पीडित बिरामीलाई प्रदान गरिँदै आएको डायलासिस सेवालाई थप सुरक्षित, प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले बैंकले अस्पताललाई उक्त प्रणाली सहयोग गरेको जनाएको छ। डायलासिस प्रक्रियामा प्रयोग हुने पानी शुद्धीकरणका लागि आरओ प्रणाली अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

सेती प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले अस्पताल व्यवस्थापनलाई आरओ प्रणाली हस्तान्तरण गरेका हुन्। अस्पतालको डायलासिस युनिटमा हाल २१ वटा डायलासिस मेसिन सञ्चालनमा रहेका छन्। ती मेसिनबाट दैनिक तीन सिफ्टमा करिब २४२ जना नियमित बिरामीले सेवा लिइरहेको अस्पतालले जनाएको छ।

बिरामीको बढ्दो चाप तथा अस्पतालको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै बैंकले अस्पताल व्यवस्थापन टोलीसँग छलफल गरेको थियो। छलफलका क्रममा डायलासिस युनिटमा सुरक्षित तथा दिगो उपचार सेवा प्रवाह गर्न आरओ प्रणाली अत्यावश्यक रहेको पहिचान भएपछि त्यसको स्थापनालाई प्राथमिकता दिइएको बैंकको भनाइ छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सुदूरपश्चिम प्रदेशका मिर्गौला रोगीको उपचार सेवामा सहयोग पुर्‍याउन पाउँदा खुसी लागेको बताए। उनले अस्पतालमा उपचाररत बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बैंकको सहयोगबाट विशेषगरी न्यून आय भएका तथा विपन्न समुदायका बिरामी प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरे।

मिर्गौला रोगको उपचार खर्चिलो हुनुका साथै बिरामीले नियमित रूपमा डायलासिस गर्नुपर्ने बाध्यता रहन्छ। सुदूरपश्चिमका विभिन्न जिल्लाबाट उपचारका लागि सेती प्रादेशिक अस्पताल पुग्ने बिरामीको सङ्ख्या उल्लेख्य रहेकाले बैंकले उपलब्ध गराएको आरओ प्रणालीले सेवाको गुणस्तर र निरन्तरता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वास्थ्य, शिक्षा, सामाजिक तथा आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि समुदायको आवश्यकता पहिचान गरेर प्रभावकारी सामाजिक कार्यक्रमलाई निरन्तरता दिने बैंकको योजना छ।

‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’को उपाधि प्राप्त गरेको बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। बैंकले नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ र फ्रिलान्सरका लागि ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ पनि सञ्चालनमा ल्याएको जनाएको छ।

त्यसैगरी, मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा तथा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने ‘क्रस बैंक टेलर’ सुविधा पनि सञ्चालनमा रहेको बैंकले जनाएको छ।

सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!