२०८३, आश्विन ५ गते

कलाकार संघद्वारा दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार सहयोग

शनिवार , भाद्र २७, २०८३

नेपाल चलचित्र कलाकार संघले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेको छ। शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा संघका अध्यक्ष उत्तम केसीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि कलाकारहरूबाट रकम संकलन गरी कोषमा जम्मा गरिएको संघले जनाएको छ। संघका अध्यक्ष केसीले बाढी प्रभावित क्षेत्र नुवाकोटका जनप्रतिनिधिका रूपमा मन्त्री तिमिल्सिनाले खेलेको भूमिकाको प्रशंसा गर्दै चलचित्र क्षेत्रका विभागीय मन्त्रीको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको बताए ।

संघका निवर्तमान अध्यक्ष मोहन निरौलाले नेपाल चलचित्र कलाकार संघको स्थापना सामाजिक सेवाको भावनासहित भएको उल्लेख गर्दै संघले आफ्नो सामाजिक उत्तरदायित्व निरन्तर रुपमा पूरा गर्दै आएको बताए। कठिन समयमा सरकारसँग एकताबद्ध हुँदै प्रभावितलाई सहयोग गर्ने उद्देश्यले कलाकारहरूबाट रकम संकलन गरिएको उनको भनाइ थियो।

संघका अनुसार जेन–जी शहीद दिवस तथा नेपाल चलचित्र कलाकार संघको ३८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमबाट संकलित रकम हस्तान्तरण गरिएको हो। चेक हस्तान्तरण कार्यक्रममा संघकी उपाध्यक्ष पुजना प्रधान, महासचिव सुनिल कटुवाल, सहकोषाध्यक्ष पवन केसी, सदस्यहरू इन्द्र दोङ, नवीनकुमार श्रेष्ठ, मोनिका दाहाल र संगम राई तथा चलचित्रकर्मी पुकार भट्टराई र लव प्याकुरेलको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!