यो साता नेपाली सेयर बजारमा ठूलो उतारचढाव देखिएन। चार कारोबार दिनमध्ये दुई दिन बजार बढ्यो भने दुई दिन घट्यो। साताको सुरुवातमा बढेको बजार बीचमा लगातार दुई दिन घटे पनि अन्तिम दिनको बलियो वृद्धिले समग्र साप्ताहिक सूचकलाई सकारात्मक राखेको छ।
साप्ताहिक आधारमा हेर्दा भने बजारमा केही सुधार देखिएको छ। गत साता २ हजार ५४२.७७ बिन्दुमा बन्द भएको नेप्से यस साता ०.६६ प्रतिशत अर्थात् १६.७२ अंक बढेर २ हजार ५५९.४९ बिन्दुमा पुगेको छ।
तर साताभरको कारोबार प्रवृत्तिले लगानीकर्ताको मनोविज्ञान अझै स्पष्ट रूपमा सकारात्मक भइनसकेको संकेत गरेको छ। बजार बढेको दिन खरिद बढ्ने र घटेको दिन पुनः बिक्रीतर्फ लाग्ने प्रवृत्तिले लगानीकर्ता ठूलो निर्णय लिन हिचकिचाइरहेको देखाएको छ।
शुक्रबारको उछालले जोगायो साप्ताहिक बजार
सोमबार नेप्से १८.०७ अंक बढेर २ हजार ५६०.८४ बिन्दुमा पुगेको थियो। त्यसपछि बुधबार र बिहीबार बजार क्रमशः १५.४३ र १३.८५ अंकले घट्यो। साताको अन्तिम कारोबार दिन शुक्रबार भने बजारमा खरिदकर्ताको दबाब बलियो देखियो। नेप्से २७.९४ अंक बढेर २ हजार ५५९.४९ बिन्दुमा बन्द भयो।
यसरी चार दिनको कारोबारमा दुई दिन बजार हरियो र दुई दिन रातो भए पनि शुक्रबारको वृद्धिले साप्ताहिक रूपमा बजारलाई सकारात्मक बनाएको हो।
कारोबार रकममा २६ प्रतिशतभन्दा बढी वृद्धि
नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ। गत साता दैनिक औसत ३ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा यस साता दैनिक औसत कारोबार ४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। यो गत साताको तुलनामा दैनिक औसत कारोबार रकममा २६.४४ प्रतिशतको वृद्धि हो।
त्यस्तै, यस साता दैनिक औसत कारोबार भएको सेयर संख्यामा १८.०८ प्रतिशत वृद्धि भएको छ। तर दैनिक औसत कारोबार संख्यामा भने १.०१ प्रतिशत कमी आएको छ। यसले बजारमा रकमको सहभागिता बढे पनि लगानीकर्ताको व्यापक सहभागिता र कारोबारको फैलावट भने सोही अनुपातमा बढ्न नसकेको संकेत गर्छ।
बजार पूँजीकरण २८ अर्ब बढ्यो
बजार सूचकसँगै नेप्सेको कुल बजार पूँजीकरण पनि बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७३ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यस साता करिब २८ अर्ब रुपैयाँ बढेर ४४ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ।
यस साता फ्लोट इन्डेक्स १.३५ अंक, सेन्सेटिभ इन्डेक्स ४.४२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४८ अंक बढेका छन्।
सात उपसमूह बढे, छ घटे
१३ उपसमूहमध्ये यस साता ७ उपसमूहको सूचक बढ्दा ६ उपसमूह घटेका छन्। सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा उपसमूहमा देखिएको छ। उक्त उपसमूहको सूचक १.४१ प्रतिशत अर्थात् १३१.३६ अंक बढेर ९ हजार ४२२.०६ बिन्दुमा पुगेको छ।
यसको विपरीत वित्त उपसमूह सबैभन्दा धेरै २.७२ प्रतिशत घटेको छ। गत साता २ हजार २५५.०२ बिन्दुमा रहेको वित्त उपसमूह यस साता ६१.२७ अंक घटेर २ हजार १९३.७५ बिन्दुमा झरेको छ। अंकका आधारमा भने विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै ८४.०४ अंक घटेको छ।
लिबर्टी इनर्जी चम्किँदा सिन्धु विकास बैंकमा ठूलो गिरावट
यस साता लगानीकर्ताको आकर्षण केही निश्चित कम्पनीका सेयरमा बढी देखिएको छ। लिबर्टी इनर्जीको सेयरमूल्य २०.१० प्रतिशत बढेर २१० रुपैयाँबाट २५२ रुपैयाँ २० पैसा पुगेको छ।
त्यस्तै, पियोर इनर्जीको सेयरमूल्य करिब १५.५ प्रतिशत र सर्वोत्तम पेन्ट्सको सेयरमूल्य १३ प्रतिशतभन्दा बढी बढेको छ।
घट्ने कम्पनीतर्फ भने सिन्धु विकास बैंक सबैभन्दा अगाडि देखिएको छ। उक्त कम्पनीको सेयरमूल्य ३२.७१ प्रतिशत घटेको छ। इमर्जिङ नेपाल करिब २७ प्रतिशत र जानकी फाइनान्स २४ प्रतिशतभन्दा बढी घटेका छन्।
फ्लोरसिट विश्लेषणमा शिखर इन्स्योरेन्स, माइ खोला हाइड्रोपावर र मध्य भोटेकोशी जलविद्युत् कम्पनीलगायतका स्टक मोस्ट पपुलर बाइ स्टकको सूचीमा देखिएका छन्। कालिञ्चोक दर्शन, इमर्जिङ नेपाल र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थालगायतका स्टक मोस्ट पपुलर सेल स्टकको सूचीमा छन्।
३८ करोड ६१ लाख कित्ता धितोपत्र सूचीकृत
यस साता नेप्सेमा ३८ करोड ६१ लाख ३५० कित्ता धितोपत्र सूचीकृत भएका छन्। प्राइम बैंकको ऋणपत्र तथा युनाइटेड मोदी हाइड्रोपावरको बोनस सेयर यस साता नेप्सेमा सूचीकृत भएका हुन्। नयाँ धितोपत्रको आपूर्तिले आगामी कारोबारमा बजारको माग–आपूर्ति सन्तुलनमा समेत प्रभाव पार्न सक्नेछ।
अब नजर अर्थमन्त्रीको ‘सरप्राइज प्याकेज’मा
यस साताको बजारलाई आगामी सातासँग जोड्ने सबैभन्दा महत्वपूर्ण विषय भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेको सेयरबजार सुधारको विशेष प्याकेज बनेको छ। शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले पुँजी बजारलाई दीर्घकालीन पुँजी निर्माणको आधारका रूपमा विकास गर्ने र बजार सुधारका लागि विशेष प्याकेज अर्को साताभित्र ल्याउने बताएका छन्।
लामो समयदेखि नीतिगत स्पष्टता, लगानीकर्ताको विश्वास र बजारको स्थायित्वका विषयमा बहस भइरहेका बेला अर्थमन्त्रीको यस्तो घोषणाले लगानीकर्तामा नयाँ अपेक्षा सिर्जना गरेको छ।
यदि सरकारले ल्याउने प्याकेजले बजारका संरचनागत तथा नीतिगत समस्या सम्बोधन गर्न सक्यो भने त्यसले लगानीकर्ताको मनोबल सुधार गर्न सक्छ। तर प्याकेजमा आउने वास्तविक व्यवस्था, त्यसको कार्यान्वयन र त्यसले बजारमा पार्ने प्रभाव नै आगामी दिनको निर्णायक विषय हुनेछ।
अहिलेको बजार प्रवृत्ति हेर्दा लगानीकर्ता न त आक्रामक रूपमा खरिदमा देखिएका छन्, न त बजारबाट पूर्ण रूपमा बाहिरिएका छन्। एक दिन खरिद र अर्को दिन बिक्री गर्ने प्रवृत्तिले बजार अझै ‘पर्ख र हेर’को अवस्थामा रहेको देखाउँछ।
त्यसैले आगामी साता अर्थमन्त्रीको घोषणासँगै नीतिगत प्याकेजले बजारलाई स्पष्ट दिशा दिन्छ कि फेरि पनि लगानीकर्ताको आशा मात्र बढाउँछ, त्यो नै सेयरबजारको मुख्य चासो बन्नेछ।
प्रतिक्रिया दिनुहोस