२०८३, आश्विन ५ गते

पूँजीबजार कार्ययोजनाको प्रभाव : नेप्से ४८ अंकले बढ्यो, कारोबार ८ अर्बमाथि

मंगलवार , भाद्र ३०, २०८३

सरकारले ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेसँगै शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। अर्थ मन्त्रालयले अघि सारेको २१ बुँदे कार्ययोजनापछि मंगलबारको कारोबारमा नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ विन्दु बन्द भएको छ।

कारोबार रकम पनि ८ अर्बमाथि

बजार परिसूचकसँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ। मंगलबार ३४७ कम्पनीका २ करोड ३ लाख ८७ हजार कित्ता शेयर ७८ हजार ८६९ पटकको कारोबारबाट किनबेच भएका छन्। यसबाट कुल ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

अघिल्लो कारोबार दिन ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। त्यसको तुलनामा मंगलबार कारोबार रकम उल्लेख्य बढेको हो।

धौलागिरी लघुवित्तको शेयरमूल्य सर्वाधिक बढ्यो

मंगलबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १४.९६ प्रतिशतले बढेर सर्वाधिक वृद्धि भएको छ। त्यस्तै, सिन्धु विकास बैंकको शेयरमूल्य ११ प्रतिशत र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ९.५ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन कारोबारमा आएको एभरेष्ट बैंकको अपरिवर्तनीय ऋणपत्रको मूल्य भने सर्वाधिक ५.५५ प्रतिशतले घटेको छ।

रिलायन्स स्पिनिङको कारोबार उच्च

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३२ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कम्पनीले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो।

त्यस्तै, शिवम् सिमेन्ट्सको ३१ करोड ५० लाख रुपैयाँभन्दा बढी र अपि पावरको करिब २८ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सबै उपसमूहमा हरियाली

मंगलबार नेप्सेका १३ वटै उपसमूहका परिसूचक बढेका छन्। निर्जीवन बीमा उपसमूह २.८२ प्रतिशतले बढेर सबैभन्दा अगाडि रहेको छ।

त्यस्तै वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूह २ प्रतिशतभन्दा बढीले बढेका छन्। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र लघुवित्त उपसमूहका परिसूचक पनि १ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन्।

सरकारले पूँजी बजारमा देखिएको सुस्तता हटाउने तथा लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले अघि सारेको २१ बुँदे कार्ययोजनाको प्रभाव आगामी कारोबारमा समेत देखिने वा नदेखिने विषय भने बजारको समग्र तरलता, लगानीकर्ता मनोविज्ञान र नीतिगत कार्यान्वयनमा निर्भर हुनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!