२०८३, आश्विन ५ गते

राष्ट्र बैंकले ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता

शुक्रवार , आश्विन २, २०८३

नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै नयाँ नोट चलनचल्तीमा ल्याएको जानकारी दिएको हो।

राष्ट्र बैंकका अनुसार नयाँ ५० रुपैयाँको नोट साबिककै आकार तथा रङमा हुनेछ। नोटको अग्रभागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञात्मक वाक्यांश राखिएको छ।

नोटको अग्रभागमा हिमालको चित्र तथा लालीगुराँसको पानी छाप राखिएको छ। सूर्यको मुनि ‘५०’ अंकित पानी छापसमेत रहेको राष्ट्र बैंकले जनाएको छ। नोटको तल्लो भागमा विक्रम संवत् २०८२ उल्लेख गरिएको छ।

नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ। नोटमा १.२ मिलिमिटर चौडा कागजमा बनाइएको सुरक्षण धागो राखिएको छ। प्रकाशतर्फबाट हेर्दा उक्त धागो पूर्ण रूपमा देखिने र त्यसमा ‘NRB’ लेखिएको राष्ट्र बैंकले जनाएको छ।

पछाडिको भागमा हिउँ चितुवा

नयाँ ५० रुपैयाँको नोटको पछाडिको भागमा हिउँ चितुवाको चित्र राखिएको छ। त्यसको माथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ भने तल्लो भागमा अंग्रेजी भाषामा ५० रुपैयाँ जनाउने शब्द तथा ‘2025 A.D.’ को शृङ्खरा उल्लेख गरिएको छ।

राष्ट्र बैंकले नयाँ नोटमा विभिन्न सुरक्षण विशेषता समावेश गरिएको जनाएको छ। यसले नक्कली नोट नियन्त्रण गर्न तथा सर्वसाधारणलाई सक्कली नोट पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पुरानो ५० रुपैयाँको नोट पनि चल्ने

राष्ट्र बैंकले नयाँ नोटलाई साबिककै ५० रुपैयाँको नोटसरह कानुनी मान्यता रहने स्पष्ट पारेको छ। यसअघि २०७७ साल असार २२ गते जारी सूचनाअनुसार चलनचल्तीमा रहेका ५० रुपैयाँ दरका नोट पनि यथावत् रूपमा प्रयोग गर्न सकिनेछन्।

राष्ट्र बैंकका अनुसार नयाँ नोट सार्वजनिक गर्नुको उद्देश्य नोटमा रहेका नयाँ डिजाइन तथा सुरक्षण विशेषताबारे सर्वसाधारणलाई जानकारी गराउनु हो।
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!